राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक उम्मेदवार छनोट प्रणाली सार्वजनिक गरेको छ। पार्टीले मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा वडा सदस्य पदका उम्मेदवार छनोटका लागि नयाँ कार्यविधि लागू गर्ने जनाएको हो।
रास्वपाले सार्वजनिक गरेको रुपरेखाअनुसार पार्टीको तर्फबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिले सम्बन्धित नगरपालिका वा वडाको ‘उम्मेदवार क्लब’ मा औपचारिक आवेदन दिनुपर्नेछ। आवेदनपछि उम्मेदवारले चार चरणको मूल्याङ्कन प्रक्रिया पार गर्नुपर्ने व्यवस्था गरिएको छ।
उम्मेदवार छनोटमा ‘लिडरसिप एकेडेमी’ बाट लिइने परीक्षा उत्तीर्ण गर्नुपर्नेछ, जसको अंक २५ प्रतिशत रहनेछ। त्यस्तै, जनसम्पर्क, लोकप्रियता र राजनीतिक सक्रियताको मूल्याङ्कन गर्ने ‘पोलिटिकल प्रोक्सिमिटी’ लाई २५ प्रतिशत तथा समावेशी प्रतिनिधित्वलाई १० प्रतिशत भार दिइएको छ।
सबैभन्दा बढी ४० प्रतिशत भारांक प्रारम्भिक आन्तरिक निर्वाचन लाई दिइएको छ। उक्त निर्वाचनमा सक्रिय सदस्य, संगठनात्मक समितिका प्रतिनिधि तथा विशिष्ट नेताहरूले मतदान गर्ने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।
पार्टीले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक चलखेल, धाँधली तथा गुटबन्दी रोक्न कडा आचारसंहिता लागू गर्ने जनाएको छ। असाधारण परिस्थितिमा भने केन्द्रीय समितिले दुई तिहाइ बहुमतबाट सिधै उम्मेदवार चयन गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
रुपरेखामा एउटै निर्वाचन चक्रभित्र प्रतिनिधिसभाको उम्मेदवार छनोट प्रक्रियामा सहभागी भइसकेका व्यक्तिले स्थानीय तहको उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन नपाउने उल्लेख गरिएको छ। त्यस्तै, स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर पराजित भएका व्यक्तिले सोही निर्वाचन चक्रभित्र हुने प्रदेशसभा निर्वाचनको उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।
यसैगरी, वडा तहको उम्मेदवार छनोट प्रक्रियामा सहभागी भएका व्यक्तिले पनि सोही निर्वाचन चक्रभित्र प्रदेशसभा सदस्यको उम्मेदवार छनोट प्रक्रियामा भाग लिन नपाउने प्रावधान समेटिएको छ।
प्रकाशित: २१ श्रावण २०८३ ११:१५ बिहीबार



