भक्तपुरमा नयाँ संग्रहालय बन्ने भएको छ। भक्तपुरको दरबार क्षेत्रमा ऐतिहासिक थन्थु दरबार निर्माण सम्पन्न गरी संग्रहालयको रूपमा विकास गरिने भएको हो।
भक्तपुर नगरपालिकाले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा थन्थु दरबारलाई संग्रहालयका रूपमा विकास गर्ने उल्लेख गरिएको छ।
थन्थु दरबार हाल परम्परागत शैलीमा इँटा, माटो र काठको प्रयोगबाट पुनर्निर्माण भइरहेको छ। यो स्थान भक्तपुर नगरपालिकाको दरबार क्षेत्रमा रहेको छ। यसअघि यहाँ भक्तपुर नगरपालिकाको कार्यालय रहेको थियो। २०७२ सालको महाभूकम्प ले उक्त दरबार क्षतिग्रस्त भएको थियो। अहिले नगरपालिकाले आरसीसी ढलान नगरी परम्परागत शैलीमै इँटा, माटो र काठको प्रयोग गरेर पुनर्निर्माण गरिरहेको छ।
नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापति ले विद्वान जगदीशशमशेर राणा ले भक्तपुरलाई “नाचगानको राजधानी” तथा जर्मन वास्तुकलाविद् निल्स गुट्सोबल ले “संसारकै ठूलो जीवित संग्रहालय” को संज्ञा दिएको स्मरण गर्दै सोहीअनुसार नगरलाई अगाडि बढाउने योजना रहेको बताए।
मूर्त र अमूर्त सम्पदाले भरिएको यस सांस्कृतिक नगरलाई सोही शैलीमा विकास गर्ने योजना रहेको उनको भनाइ थियो।
नगर प्रमुख प्रजापतिले भक्तपुर सम्पदा र सभ्यताको शहर भएको उल्लेख गर्दै यहाँका सम्पदाहरू विश्वप्रसिद्ध रहेको बताए। ती सम्पदाको संरक्षण र संवर्द्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नु आफूहरूको कर्तव्य र जिम्मेवारी रहेको उनले बताए।
उनले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेखेको “सय वर्षपछिको भक्तपुर” ले आफूहरूलाई काम गर्न दिशानिर्देश गरिरहेको पनि उल्लेख गरे।
भक्तपुरलाई “सांस्कृतिक नगर” घोषणा गर्न पहल गरिने उनले जानकारी दिए। दाफाभजन र परम्परागत बाजागाजाको बोल लिपिबद्ध गर्नुका साथै संस्कृतिको संरक्षण तथा अभिलेखीकरण गरिने योजना सार्वजनिक गरिएको छ।
परम्परागत बाजा तथा भजनको प्रतियोगिता एवं प्रदर्शनीमार्फत सांस्कृतिक संरक्षणमा जोड दिइने नगरपालिकाको योजना छ।
परम्परागत तथा आधुनिक विधाका सांस्कृतिक गतिविधिसँगै समय–समयमा नगरका विभिन्न स्थानमा पालैपालो मेला तथा उत्सव सञ्चालन गरी आर्थिक गतिविधि बढाइने जनाइएको छ। भक्तपुरलाई जीवित सम्पदा शहरका रूपमा विकास गर्न बिहान र बेलुकाको समयमा सत्तल, पाटीपौवा लगायतका स्थानमा भजन तथा सांस्कृतिक गतिविधि सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गरिने योजना पनि सार्वजनिक गरिएको छ।
परम्परागत शैलीमा घर निर्माण गर्ने नगरबासीलाई नगरपालिकाबाट दिँदै आएको अनुदानलाई निरन्तरता दिँदै ऐतिहासिक महत्वका निजी घर निर्माणमा समेत सहजीकरण गरिने योजना छ।
टोल–टोलका मौलिक नामकरणसँगै मन्दिर, द्यःछें, देवालय, शिवालय, बहाबही, चोक, ननी, पाटी, सत्तल, ढुंगेधारा तथा पोखरी लगायत सम्पदाको संरक्षण गरी डिजिटल अभिलेखीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
भक्तपुरको पहिचानका रूपमा रहेका जुजुधौ, तौमडी, भादगाउँले टोपी, कवाँचा प्याखं, बिस्का जात्रा लगायतका सम्पदालाई राष्ट्रिय सूचीकरणमा समावेश गर्न प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।
खौमास्थित उमा महेश्वर, क्वाछेंको नारायण मन्दिर, चासुखेलको दही विनायक द्यःछें तथा तौमढीको नवदुर्गा द्यःछें पुनर्निर्माण प्रक्रिया अगाडि बढाइएको छ। साथै ऐतिहासिक नवदुर्गा जात्रा सञ्चालनमा नगरपालिकाबाट सहजीकरण गरिने उल्लेख गरिएको छ।
कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ले गरेका थिए। कार्यक्रममा बागमती प्रदेशका सांसदद्वय सुरेन्द्रराज गोसाई र सृजना सैंजु ले पनि नगरका विभिन्न विषयमा चर्चा गरेका थिए।
प्रकाशित: ७ असार २०८३ १९:२७ आइतबार


-600x400.jpg)
