राजनीति

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

फाइल तस्बिर

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ।  

धौलागिरि, मालिका, रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो। मङ्गला गाउँपालिकामा भने मतदान प्रक्रियाबाट गोपाल भट्टचन सभापतिमा निर्वाचित भएका छन्।

म्याग्दी कांग्रेसका सचिव भरत रकालले बेनी नगर सभापतिमा चक्र केसी, धौलागिरिमा प्रेमप्रसाद पुन, मालिकामा राजेन्द्र जुग्जाली, रघुगङ्गामा निरज भण्डारी र अन्नपूर्ण गाउँपालिका सभापतिमा कृष्णप्रसाद बरुवाल निर्विरोध चयन भए।

मङ्गला गाउँपालिकाको सभापतिमा प्रतिस्पर्धी मुक्तमान केसीलाई दुई मतले पछि पार्दै भट्टचन निर्वाचित भएका हुन्। भट्टचनले ४१ मत प्राप्त गरेर सभापतिमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी केसीले ३९ मत प्राप्त गरेका थिए।

छ वटा स्थानीय तह रहेको म्याग्दीका ४५ वटै वडामा सर्वसम्मतिमा नेतृत्व, पदाधिकारी, सदस्य र क्षेत्रीय प्रतिनिधिहरु चयन भएका जिल्ला सचिव रकालले जानकारी दिए। 

प्रकाशित: १० आश्विन २०८३ ०८:५१ शनिबार