सुर्खेत क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि नेपाली कांग्रेसले तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सिफारिस गरेको थियो। विकसित पार्टीको आन्तरिक राजनीतिका कारण उनले चुनाव नलड्ने घोषणा गरेपछि उनको क्षेत्रबाट जिल्ला उपसभापति विष्णुबहादुर खड्का यस पटक चुनावी मैदानमा होमिएका छन्।
खड्कासँगको प्रतिस्पर्धामा एक पटक परीक्षण भइसकेका नेकपा एमाले नेता ध्रुवकुमार शाही चुनावी मैदानमा छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट जितबहादुर राना पनि पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन्। यसका अलावा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कांग्रेसका पूर्व नेता टेकबहादुर सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रविकिरण हमाललगायतका नयाँ उम्मेदवार पनि चुनावी मैदानमा छन्।
२०४६ सालदेखि कांग्रेसका पूर्व कार्यवाहक सभापति खड्का लड्दै र एक पटक बाहेक सधैँ जित्दै आएको यो क्षेत्रमा मुख्यगरी कांग्रेस र एमालेबिच प्रतिस्पर्धा हुने देखिन्छ। एमालेका उम्मेदवार शाही तेस्रो पटक चुनावी मैदानमा उत्रिएका छन्। २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा पूर्णबहादुरलाई हराएर चर्चामा आएका शाहीले पाँच वर्षको अवधिमा देखिने गरेर काम नगरेको आरोप स्थानीय स्तरमा छ। उतिबेला खड्कालाई तीन हजार दुई सय ८२ मतले पराजित गरेका शाही दोस्रो पटक २०७९ सालमा भएको निर्वाचनमा उनै खड्कासँग ११ हजार ६ सय १९ मतान्तरले पराजित भए।
२०७४ सालमा वाम गठबन्धनको लहर चलेको थियो भने २०७९ मा कांग्रेस–माओवादी मिलेर चुनाव लडेका थिए। २०७४ मा शाहीले ३६ हजार सात सय ५९ मत ल्याएर विजयी हुँदा पूर्णबहादुरले ३३ हजार दुई सय ७७ मतमा चित्त बुझाए भने २०७९ मा पूर्णबहादुरले ४२ हजार ६ सय सात मत ल्याएर विजयी हुँदा शाही ३० हजार नौ सय ८८ मतमै सीमित भए।
कांग्रेस पूर्व कार्यवाहक सभापति खड्का केन्द्रको राजनीतिमा बढी केन्द्रित हुने भएकाले उनको निर्वाचन क्षेत्रको कमान्ड भने विष्णुबहादुरले सम्हाल्दै आएका थिए। ‘जनताको सुख दुःखमा सधैँ साथमा हुने भएकाले हाम्रो निर्वाचन क्षेत्रमा उपसभापति विष्णुबहादुर खड्का लोकप्रिय हुनुहुन्छ’, कांग्रेस जिल्ला सभापति खड्कबहादुर पोखरेलले भने, ‘त्यसैले उम्मेदवारी मनोनयनको दिन सर्वसम्मत उम्मेदवार सिफारिस गरेका थियौँ।’
विष्णुबहादुर जिल्ला उपसभापति हुन् भने सुर्खेतका स्थापित व्यवसायी पनि हुन्। खड्काले माया अस्पताल, माया पोलिक्लिनिक, न्यु माया आयल स्टोरलगायतका व्यवसाय सञ्चालन गरेका छन् भने मध्यपश्चिम यातायात प्रालिका अध्यक्ष पनि हुन्। बहुदल ल्याउने आन्दोलनदेखि राजनीतिमा लागेका खड्का दुई पटक गरेर ३७ दिन प्रहरी हिरासतमा बिताएका थिए।
एमालेबाट तेस्रो पटक चुनावी मैदानमा उत्रिएका शाही एमालेका प्रदेश कमिटी सचिव हुन्। शाहीले २०४५ सालमा नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुबाट राजनीति थालेका थिए। त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका उनी २७ वर्षको उमेरमा २०५४ सालमा साबिक मालारानी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए। उनी एमालेको दुई कार्यकाल जिल्ला अध्यक्ष भइसकेका छन्।
उम्मेदवारहरू अहिले घरदैलो र पालिका स्तरमा अगुवा कार्यकर्ता भेलामा व्यस्त छन्। चुनावी घोषणापत्र नभए पनि उनीहरूले विकास निर्माणलाई प्राथमिकतामा राख्ने बाचा जनतासँग गरिरहेका छन्। कांग्रेसले पूर्व कार्यवाहक सभापति खड्काले सुरु गरेका अधुरा कामलाई पूर्णता दिँदै नयाँ कामको थालनी गर्ने जनतासँग वाचा गरिरहेको छ भने अन्य दलहरूले पनि जनताका दैनिकीसँग सम्बन्धित माग पूरा गर्ने वाचा गरिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी भने उक्त पार्टीका वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउनका लागि भन्दै भोट मागिरहेको छ।
भेरी बहुमुखी क्याम्पसका प्रमुख तुलबहादुर राना सबै राजनीतिक दलहरू छुट्टाछुट्टै चुनावी मैदानमा उत्रिएकाले यो पटक दलहरूका लागि वास्तविक परीक्षण हुने बताउँछन्। ‘२०७४ सालमा वाम गठबन्धनको लहर थियो, उतिबेला एमालेका उम्मेदवार तीन हजार दुई सय हाराहारी मत ल्याएर चुनाव जितेका थिए, २०७९ मा कांग्रेस–माओवादी केन्द्रसँग गठबन्धन भयो, कांग्रेसका उम्मेदवारले ११ हजारभन्दा बढीको अन्तरले चुनाव जिते’, उनले भने, ‘यस पटक सबै दलहरू एक्ला एक्लै चुनाव लगेका छन्, दलहरूको वास्तविक परीक्षण पनि यही बेला हुने हो।’
नेकपाले यहाँ जितबहादुर रानालाई प्रतिस्पर्धामा उतारेको छ। २०४७ देखि राजनीतिमा लागेका उनी पूर्वलडाकु कमान्डर हुन्। उनी यसअघि माओवादीको सुर्खेत जिल्ला इन्चार्ज थिए। उनी एक कार्यकाल सुर्खेत उपत्यका नगर विकास समितिको अध्यक्ष भएका थिए।
राप्रपाले केन्द्रीय सदस्यसमेत रहेका रविकिरण हमाललाई उम्मेदवार बनाएको छ। उनले सुशासन, भ्रष्टाचारको अन्त्य र तिथि बसाल्न आफ्नो उम्मेदवारी रहेको बताए। ‘जेनजी आन्दोलनका मुद्दालाई संस्थागत गर्न मेरो उम्मेदवारी हो’, उनले भने, ‘अहिलेको विकृत राजनीतिलाई जनअपेक्षाअनुरूपको बनाउने अठोट लिएको छु।’
रास्वपाबाट टेकबहादुर सिंह चुनावी मैदानमा छन्। कांग्रेसका पूर्वजिल्ला उपसभापति सिंह गत मंसिरमा रास्वपा प्रवेश गरेका थिए। २०७४ सालमा भएको निर्वाचनमा उनी कांग्रेसबाट प्रदेशसभा सदस्यमा पराजित भएका थिए।
सुर्खेत– १ मा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रमुख दलहरूको सांगठनिक अवस्था, विगतको चुनावी परिणाम र अहिलेको चुनावी माहोललाई हेर्दा यो क्षेत्रमा कांग्रेस र एमालेबिच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। गत प्रदेशसभा निर्वाचनमा १(१) बाट कांग्रेसका खड्गबहादुर पोखरेल १८ हजार दुई सय ६४ मतसहित विजयी हुँदा १(२) मा नेकपाका कृष्णबहादुर जिसी २१ हजार सात सय ३४ मत ल्याएर विजयी भएका थिए। सुर्खेत– १ मा वीरेन्द्रनगर नगरपालिकाका १५ र १६ वडासहित भेरीगंगा, गुर्भाकोट र लेकबेसी नगरपालिका तथा सिम्ता र चिंगाड गाउँपालिका पर्छन्।
प्रकाशित: २० माघ २०८२ ०८:२९ मंगलबार



