राजनीति

संसदीय सुनुवाइ समितिको सभापतिबाट न्यौपानेले बुझाइन राजीनामा

संसदीय सुनुवाइ समितिको सभापतिबाट ईश्वरी देवी न्यौपानेले राजीनामा दिएकी छन् ।  

न्यौपानेले तत्काल लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा दिएको उल्लेख गरेकी छन् । उनले आफ्नो राजीनामा पत्रमा उल्लेख गरेकी छन्, ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को  नियम २५ बमोजिम गठित संसदीय सुनुवाई समितिको सभापति पदमा रही रहन विशेष कारणले  म असमर्थ भएको अवगत गराउँदै आजै / तत्काल लागू हुने गरी समितिको सभापति पदबाट  राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु।’

न्यौपनेले प्रतिनिधि सभाका सभामुखलाई राजीनामा बुझाउँदै राष्ट्रिय सभा अध्यक्षलाई पनि अवगतार्थ राजीनामा पठाएकी छन् ।

किन एक्कासी राजीनामा

नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको पार्टीका शीर्ष नेताको बैठकले सो निर्णय गरेपछि न्यौपानेले समिति सभापतिबाट राजीनामा दिएकी हुन् ।  

नयाँ सभापतिका लागि यही भदौ ११ गते निर्वाचन हुँदैछ । आज दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म उम्मेदवार मनोनयन गर्ने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ ।  

कांग्रेस सांसद रामहरि खतिवडाले सभापतिबाट राजिनामा दिएपछि यो पद रिक्त थियो ।

प्रकाशित: १० भाद्र २०८२ १४:४१ मंगलबार