राजनीति

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न- कार्की आयोगको प्रतिवेदन सरकारले पनि गोरखापत्रमै पढ्ने हो ?

नेपाली कांग्रेसले भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनबारे प्रधानमन्त्री बालेन शाहलाई प्रश्न गरेको छ।

प्रतिनिधि सभाको पहिलो बैठकमा कांग्रेसका तर्फबाट बोल्दै सांसद भीष्मराज आङ्देम्बेले प्रतिवेदन सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्रमै पढ्ने भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।

उनले भने, ‘नयाँ प्रधानमन्त्रीजिलाई म ध्यानाकर्षण गराउन चाहन्छु, जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्रमा पढ्ने ? म आग्रह गर्न चाहन्छु- सरकारले सुझबुझपुर्ण ढंगले कानुन र प्रक्रियाको मर्यादा राखेर आफुलाई प्रस्तुत गरोस्।’ 

भदौ २४ को ध्वंस र २३ गतेको दमन दुवै घटनालाई गहिरिएर केलाउनुपर्ने उनले बताए।

आयोगले २३ गतेको अनुसन्धान गरेर २४ गतेको घटनामा समय नपुगेको भन्नु नियतवश भएको उनले दाबी गरेका छन्। दोषी नउम्किने र निर्दोष नफस्ने मान्यतामा कांग्रेस दृढ रहेको प्रष्ट पार्दै उनले कानुन र प्रक्रियाको मर्यादा राखेर अघि बढ्न सरकारलाई आग्रह गरेका छन्।

यसैगरी, आङ्देम्बेले फागुन २१ को निर्वाचनबाट पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी र नयाँ प्रधानमन्त्री बालेन शाहलाई बधाई तथा शुभकामना दिए।

कांग्रेसले एक जिम्मेवार प्रतिपक्षी दलका रूपमा सरकारलाई साथ दिने र खबरदारी गर्ने उनले बताएका छन्। उनले गगन थापालाई सभापति बनाएर कांग्रेस बदलिएको समय र समाजअनुरूप रूपान्तरणमा प्रवेश गरेको सुनाए।

यद्यपि, संविधान र नागरिकको अपेक्षाविपरीत काम भएमा कांग्रेस सरकारको अगाडि उभिने उनले चेतावनी दिए।

विगत ३५ वर्षमा देशमा केही पनि भएन भन्ने निराशाको भाष्य गलत रहेको आङ्देम्बेको दाबी छ। सशस्त्र द्वन्द्व, राजाको निरंकुश शासन, भूकम्प र कोरोना महामारीजस्ता संकटका बाबजुद गाउँगाउँमा बाटो, बिजुली, खानेपानी, सञ्चार, स्वास्थ्य सुविधा र निजी क्षेत्रको विस्तार भएको उनले बताए।

शासकीय कमजोरीका कारण सोचेजस्तो प्रगति नभए पनि केही पनि भएन भन्ने भाष्य सत्यको जगमा नउभिएको उनको भनाइ छ। नयाँ संसदले एक ढिक्का भएर नागरिकमा आशा र विश्वास जगाउनुपर्ने उनले बताएका छन्।

संसदमा सम्बोधन गर्दै उनले २००७ सालदेखि पछिल्लो जेनजी विद्रोहसम्म ज्यान गुमाउने सम्पूर्ण सहिदहरूको स्मरण गरे। जेन-जी विद्रोहले उठाएका मुद्दालाई निष्कर्षमा पुर्‍याउन कांग्रेस प्रतिबद्ध रहेको उनले बताए। भविष्यमा यस्ता विद्रोह र विष्फोट हुन नदिन नयाँ र दूरदर्शी ढंगले सोच्न जरुरी रहेको उनले औंल्याए।

प्रकाशित: १९ चैत्र २०८२ १५:३० बिहीबार