राजनीति

आलमको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त, तीन दिन पार्टीको झण्डा आधा झुकाइने

नेपाली कांग्रेसले पार्टीका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

शनिबार बिहान पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो।

रौतहट जिल्लाका पूर्वसभापति समेत रहेका आलमो ६३ वर्षको उमेरमा शुक्रबार राति काठमाडौंको सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो।

विसं २०१९ असार ५ गते रौतहटमा जन्मिएका आलमले विसं २०३६ सालमा नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए।

उनी विसं २०५३ को उपनिर्वाचन, २०५६ को आम निर्वाचन, २०६४ को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नं. २ बाट विजयी भएका थिए।

आलमले आफ्नो राजनीतिक जीवनमा पटकपटक मन्त्री पदको जिम्मेवारी सम्हाले। विसं २०६७ मा सम्पन्न पार्टीको बाह्रौँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको र पार्टीको संगठन निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै, संघर्षका क्रममा पटकपटक जेल जीवन व्यतीत गरेको कांग्रेसले स्मरण गरेको छ।

आलमको निधनमा शोक व्यक्त गर्न केन्द्रीय कार्यसमितिको बैठकले एक मिनेट मौन धारणसमेत गरेको थियो।

तीन दिन झण्डा आधा झुकाइने, कार्यालय बन्द रहने

बैठकले आलमको सम्मानमा तीन दिन अर्थात् कात्तिक २२, २३ र २४ गतेसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश तथा सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।

यसैगरी, कात्तिक २३ गते एक दिन देशभरका सबै पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखिने पनि कांग्रेसले जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०८२ १७:१६ शनिबार