नेपाली कांग्रेसले समुन्नत नेपाल निर्माणलाई केन्द्रीय लक्ष्यका रूपमा अघि सार्दै नीतिगत सुधार, सुशासन र आर्थिक रूपान्तरणको महाअभियानको नेतृत्व गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छ।
पार्टीका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनमा राजनीतिक अधिकार स्थापनाको ऐतिहासिक भूमिकाबाट अघि बढ्दै अब आर्थिक विकास र समुन्नतिमा निर्णायक नेतृत्व लिने दिशामा पार्टी केन्द्रित हुने उल्लेख गरिएको छ।
प्रतिवेदनमा नेपाली कांग्रेसलाई सुधार र समुन्नतिको अग्रणी शक्ति बनाउँदै पार्टीलाई हरेक तह र क्षेत्रमा सक्रिय बनाउने लक्ष्य लिइएको छ।
दिगो आर्थिक विकासका लागि सुशासन अपरिहार्य रहेको उल्लेख गर्दै प्रतिवेदनमा २०१५ सालको नीतिगत सुधार र २०४८–२०५० को आर्थिक विकासको अनुभवलाई स्मरण गरिएको छ। ती उपलब्धिहरू नेपाली कांग्रेसले नै सम्भव बनाएको दाबी गर्दै अब पनि सुधार र आर्थिक रूपान्तरणको नेतृत्व गर्न सक्ने आत्मविश्वास पार्टीसँग रहेको जनाइएको छ।
अर्थनीति र विकास नीतिको पुनर्विचार गर्दै फराकिलो आर्थिक वृद्धि, वातावरणमैत्री र दिगो विकासलाई प्राथमिकता दिने नीति अवलम्बन गरिने प्रतिवेदनमा उल्लेख छ। आर्थिक कूटनीतिको माध्यमबाट वैदेशिक सहयोग अभिवृद्धि गर्दै राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा ठूला भौतिक पूर्वाधार निर्माणलाई प्रभावकारी बनाइने जनाइएको छ।
त्यसैगरी महामन्त्री थापाको प्रतिवेदनमा अर्थतन्त्रका सबै क्षेत्रलाई दलीय प्रभाव, दबाब र कब्जाबाट मुक्त गर्दै उत्पादनशील अर्थतन्त्र विकास, नवीन अवसरहरूको सिर्जना र समन्यायिक वितरणको मार्ग प्रशस्त गर्ने लक्ष्य कांग्रेसले लिएको छ। आर्थिक अभाव र विपन्नताको चक्रबाट आम नागरिकलाई मुक्त गर्दै सम्मानजनक जीवनस्तर सुनिश्चित गर्नु समुन्नत नेपालको मूल आधार हुने प्रतिवेदनमा उल्लेख छ।
शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पर्यटनजस्ता प्राथमिक क्षेत्रहरूमा स्पष्ट नीति र कार्ययोजना तयार गरी समुन्नतिको यात्रालाई संस्थागत बनाइने कांग्रेसको योजना छ। स्वदेशमै योग्यता अनुसारको मर्यादित रोजगारी र उद्यमका अवसर सिर्जना गर्न सके मात्र आर्थिक समावेशिता र समृद्धि सम्भव हुने प्रतिवेदनको निष्कर्ष छ।
समावेशी आर्थिक प्रगतिका लाभ आम नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने वातावरण निर्माण भए मात्र समुन्नत नेपालको सपना साकार हुने भन्दै महामन्त्री थापाको प्रतिवेदनले नीतिगत सुधार र प्रभावकारी हस्तक्षेपमार्फत नेपाललाई केही वर्षमै उच्च आर्थिक वृद्धिको मार्गमा लैजान सकिने विश्वास व्यक्त गरेको छ।
प्रकाशित: २९ पुस २०८२ ०८:४० मंगलबार