नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ।
संसदीय दलको सोमबार बसेको बैठकले ती घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै घटनामा मृत्यु भएका र थुप्रै व्यक्ति घाइते भएकोप्रति दुःख व्यक्त गरेको छ।
बैठकपछि कांग्रेस प्रमुख सचेतक बासना थापाले भनिन्, ‘घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग जोडदार माग गर्दछौँ। भविष्यमा यस्ता हिंसात्मक घटना दोहोरिन नदिन सबै पक्षलाई हार्दिक अपिल गर्दछौँ।’
बैठकले सदियौँदेखि एकअर्काको धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै आपसी भाइचारा, बन्धुत्व र सामाजिक सद्भाव कायम रहँदै आएको अवस्थामा सामाजिक विद्वेष फैलाउने घटना हुनु दुःखद भएको जनाएको छ।
कांग्रेसले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारसँग आग्रह गर्दै भविष्यमा यस्ता हिंसात्मक घटना दोहोरिन नदिन सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र संयमता कायम राख्न सबै पक्षलाई अपिल गरेको छ।
बैठकले नागरिक, सांसद र संसद्बीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको ‘कांग्रेस संसदीय दल सांसद समन्वयसम्बन्धी कार्यादेश’ पारित गरेको उनले बताइन्।
प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यका लागि स्वकीय सचिव नियुक्तिसम्बन्धी कार्यविधि, २०८३ पनि बैठकले पारित गरेको छ।
बैठकले कांग्रेसका वरिष्ठ नेता स्व गोपालमान श्रेष्ठ, पूर्वमन्त्री राजेन्द्र खरेल तथा अन्य दिवङ्गत व्यक्तित्वहरूप्रति शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
प्रकाशित: १८ श्रावण २०८३ १९:१० सोमबार