राजनीति

१४ औं महाधिवेशन पुनर्स्थापित भएपछि मात्र देउवाको नेतृत्वमा १५ औं महाधिवेशन: साउद

नेपाली कांग्रेसका नेता नारायणप्रकाश (एनपी) साउदले पार्टीमा दिगो एकता कायम गर्न १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पुनर्स्थापित गरिनुपर्ने सर्त अघि सारेका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय सम्मेलनका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले १४औँ कार्यसमितिको पुनर्स्थापनापछि मात्र पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा १५औं महाधिवेशन सम्पन्न गर्न सकिने बताएका छन्।

पार्टी एकताको आधारबारे प्रस्ट पार्दै नेता साउदले भने, ‘पार्टी एकताका लागि हाम्रो सर्त स्पष्ट छ, पहिले निर्वाचन आयोगले गरेको निर्णय गलत थियो। १४औँ महाधिवेशनलाई पुनर्स्थापित गरेर त्यसैलाई एकताको महाधिवेशन बनाएर अघि बढ्यौं भने मात्र दिगो एकता सम्भव छ। १४औं महाधिवेशन पुनर्स्थापित हुनेबित्तिकै १५औं महाधिवेशनमा हामी सबै एकै ठाउँमा अगाडि बढ्न सक्छौं।’

संस्थापन इतर पक्षले यो सर्त नमाने पार्टीको बाटो के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता साउदले चेतावनी दिए। ‘उहाँहरूले यो कुरा नमानेको खण्डमा के हुन्छ, तपाईंहरू आफैँ अनुमान गर्न सक्नुहुन्छ,’ उनले भने, ‘पार्टी एकताका बारेमा सबै संवेदनशील हुनुपर्छ र यो संवेदनशीलता उनीहरूको तर्फबाट देखाइनु अझ बढी जरुरी छ।’

१४औं महाधिवेशनमा विशेष अधिवेशन पक्षधर र आफूहरू सबै एकै ठाउँमा रहेको स्मरण गराउँदै नेता साउदले विधिसम्मत ढंगले पुरानै कार्यसमितिलाई सक्रिय बनाएर मात्र आगामी १५औं महाधिवेशनको निकास खोज्नुपर्नेमा जोड दिए।

प्रकाशित: ३० श्रावण २०८३ १९:०१ शनिबार