राजनीति

शशांक समूहको भेलालाई गगनको जवाफ: ‘प्रस्ताव सुन्छौं, सम्मान गर्छौं, तर पार्टीको नीति बन्दैन’

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र हुने गुटगत भेला र तिनले पारित गरेका निर्णयहरू पार्टीको आधिकारिक नीति हुन नसक्ने बताएका छन्।

पार्टीको आधिकारिक दृष्टिकोण निर्माण गर्ने आफ्नै वैधानिक आधार र थलोहरू रहेको उल्लेख गर्दै उनले कुनै पनि समूहका भेलालाई संस्थागत नीतिको मान्यता दिन नसकिने प्रस्ट पारेका हुन्।

पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसको नीति र आधिकारिक दृष्टिकोण केवल महाधिवेशन, महासमिति बैठक र निर्वाचनका बेला जारी गरिने घोषणापत्रले मात्र तय गर्ने बताए।

‘आधिकारिक दृष्टिकोण निर्माण गर्ने निश्चित वैधानिक आधार छन्,’ सभापति थापाले भने, ‘महाधिवेशन, महासमिति र निर्वाचनको घोषणापत्रबाहेक अन्य कुनै पनि भेलाले गरेका निर्णय पार्टीको नीति बन्दैनन् र ती आधिकारिक पनि हुँदैनन्।’

डा. शशांक कोइरालाको संयोजकत्वमा हालै सम्पन्न इतर समूहको राष्ट्रिय भेलातर्फ सङ्केत गर्दै सभापति थापाले त्यस्ता भेलाका प्रस्तावलाई पार्टीले सुन्ने र सम्मान गर्ने तर त्यसलाई पार्टीको दस्ताबेज का रूपमा स्विकार्न नसकिने बताए।

“कुनै पनि ठाउँमा भएको भेलाबाट प्रस्ताव पास भयो भन्दै गर्दा हामी त्यसलाई सुन्छौं, सम्मान गर्छौँ, तर त्यो पार्टीको आधिकारिक धारणा बन्दैन,’ थापाले भने।

प्रकाशित: १ भाद्र २०८३ १८:४४ सोमबार