राजनीति

प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच सम्बन्ध विस्तारमा जोड

नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको ऐतिहासिक अवसरमा द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्दै सम्बन्धलाई नयाँ उचाइमा पुऱ्याउन दुवै देश सहमत भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेही भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच आइतबार भएको उच्चस्तरीय भेटवार्तामा उक्त सहमति जुटेको हो।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा दुई देशबीचको समस्यारहित सम्बन्धलाई अझ प्रगाढ बनाउन सरकार-सरकार, व्यापार-व्यवसाय र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो।

भेटपछि प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले कूटनीतिक र सांस्कृतिक सम्बन्ध विस्तारका विविध पक्षमा पनि छलफल भएको जानकारी दिए।

नेपाल–भियतनाम कूटनीतिक सम्बन्धको स्वर्ण जयन्तीको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा भियतनामी उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आइपुगेकी हुन्।

प्रकाशित: ८ भाद्र २०८२ १६:५२ आइतबार