नेकपा (एमाले) का सचिव शेरधन राईले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायसँग व्यावहारिक सहयोग, प्रविधि, लगानी र सहकार्य आवश्यक रहेको बताएका छन्।
दक्षिण कोरियाको सोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को १३औँ महासभालाई सम्बोधन गर्दै राईले विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि जलवायु परिवर्तनका गम्भीर असर नेपाली जनताले भोग्नुपरेको बताए।
भोटेकोशी क्षेत्रसहित नेपालका विभिन्न भागमा हालै भएका विनाशकारी बाढीले जनधन, घरबास र जीविकोपार्जनका आधारमा ठूलो क्षति पुर्याएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी रहेको औँल्याए।
‘जलवायु परिवर्तनमा सबैभन्दा कम योगदान गर्नेहरूलाई नै सबैभन्दा बढी पीडा भोग्नुपर्ने अवस्थामा छोडिनु हुँदैन,’ उनले भने, ‘हामीलाई सहानुभूति मात्र होइन, व्यावहारिक सहयोग, प्रविधि, लगानी र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ।’
राईले नेपालको परराष्ट्र नीति सबै राष्ट्रसँग मित्रवत् सम्बन्ध कायम गर्ने र कसैसँग शत्रुता नराख्ने सिद्धान्तमा आधारित रहेको स्पष्ट पारे। नेपालले सबै राष्ट्रको स्वतन्त्रता र सार्वभौमिकताको सम्मान गर्ने उल्लेख गर्दै अन्तर्राष्ट्रिय समस्याको समाधान द्वन्द्वबाट नभई संवादबाट खोज्नुपर्नेमा जोड दिए।
भारत र चीनबीच अवस्थित नेपालले दुवै छिमेकीसँगको मैत्रीपूर्ण सम्बन्धलाई महत्त्व दिएको बताउँदै उनले नेपालको भौगोलिक अवस्थिति राष्ट्रहरूलाई विभाजित गर्ने नभई जोड्ने माध्यम बन्नुपर्ने धारणा राखे। ‘हाम्रो भौगोलिक अवस्थिति राष्ट्रहरूलाई विभाजित गरेर होइन, जोड्ने माध्यम बन्नुपर्छ,’ राईले भने।
अन्तर्राष्ट्रिय सम्बन्धले आम नागरिकको जीवनमा प्रत्यक्ष लाभ पुर्याउनुपर्ने उनको भनाइ थियो। युवाले रोजगारी, व्यवसायीले व्यावसायिक अवसर, विद्यार्थीले शिक्षा तथा प्रविधि र श्रमिकले सुरक्षा एवं सम्मान पाउनुपर्ने उनले बताए। नेपालमा जलविद्युत् तथा स्वच्छ ऊर्जाको क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै राईले त्यसलाई जनताको समृद्धिसँग जोड्न अन्तर्राष्ट्रिय लगानी र प्रविधिको स्वागत गर्नुपर्ने बताए। विदेशमा कार्यरत लाखौँ नेपाली श्रमिकको योगदानको चर्चा गर्दै उनले उनीहरूको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिए।
राजनीतिक विचार र पृष्ठभूमि फरक भए पनि संवाद र सहकार्यलाई निरन्तरता दिनुपर्ने उनको आग्रह थियो। विश्वका राजनीतिक दलहरूले टकरावभन्दा संवाद, विभाजनभन्दा सहकार्य र द्वन्द्वभन्दा शान्तिलाई प्राथमिकता दिनुपर्ने उनले बताए। ‘हाम्रा झण्डाहरू फरक हुन सक्छन् र हामीले बोल्ने भाषाहरू पनि फरक हुन सक्छन्, तर हाम्रो मानवता एउटै छ,’ राईले भने, ‘हामीसँग एउटै विश्व छ र यो हामी सबैको साझा हो।’
राईले इतिहासले विभाजनका कारण नभई विश्वास निर्माण, शान्तिको संरक्षण र साझा भविष्य निर्माणका प्रयासका लागि सम्झिनुपर्ने धारणा राखेका थिए। उनले भावी पुस्ताका लागि विश्वलाई अझ सुरक्षित र बस्नयोग्य बनाउन सबै राष्ट्रले साझा प्रयास गर्नुपर्ने बताए।
आइक्याप महासभामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधित्व गर्दै सहभागी भएका राईले ओलीको व्यक्तिगत व्यस्तताका कारण महासभामा उपस्थित हुन नसकेको जानकारी गराउँदै उनका तर्फबाट शुभकामना तथा अभिवादन व्यक्त गरेका थिए।
प्रकाशित: २० कार्तिक २०८३ ०९:२० शुक्रबार