राजनीति

डब्ल्यूटीएम लन्डनमा नेपालको पर्यटन प्रवर्द्धन सम्भावना प्रस्तुत

बेलायतको लन्डनमा आयोजित विश्वकै प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला ‘वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लन्डन २०२६’ मा नेपालले वेलनेस, साहसिक, सांस्कृतिक तथा दिगो पर्यटनका सम्भावना प्रस्तुत गरेको छ। 

नोभेम्बर ३ देखि ५ सम्म लन्डनस्थित एक्सेल प्रदर्शनी केन्द्रमा आयोजित मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को नेतृत्वमा नेपाल पर्यटन बोर्डसहित ३२ वटा निजी पर्यटन कम्पनी सहभागी भएका थिए। 

मेलामा सन् २०२७ मा मनाउन लागिएको ‘नेपाल वेलनेस पर्यटन वर्ष’लाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नुका साथै योग, ध्यान, आध्यात्मिक पर्यटन र स्वास्थ्यसँग सम्बन्धित पर्यटन उत्पादनलाई प्राथमिकता दिइएको थियो। 

नेपालले हिमाल आरोहण र पदयात्रासँगै माउन्टेन बाइकिङ, उच्च हिमाली म्याराथन, र्‍याफ्टिङ, वन्यजन्तु अवलोकन, सांस्कृतिक सम्पदा तथा सामुदायिक पर्यटनका सम्भावना पनि प्रस्तुत गरेको थियो। 

मेलाका क्रममा पर्यटनमन्त्री पौडेलले भारतका केन्द्रीय पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्रसिंह शेखावत, यूएईका अर्थतन्त्र तथा पर्यटनमन्त्री अब्दुल्ला बिन तौक अल मारी, श्रीलङ्काका पर्यटन उपमन्त्री प्रा। रुवान रणतुङ्गा तथा भारतीय राज्यसभा सदस्य सुधा मूर्तिसँग भेटवार्ता गरेका थिए। भेटमा पर्यटन सहकार्य, हवाई सम्पर्क विस्तार, सांस्कृतिक आदानप्रदान र पर्यटन क्षेत्रमा लगानीका सम्भावनाबारे छलफल भएको थियो। 

त्यसैगरी, मन्त्री पौडेलले विश्व पर्यटन तथा भ्रमण परिषद् (डब्ल्यूटीटीसी) र संयुक्त राष्ट्रसंघीय पर्यटन निकायको संयुक्त आयोजनामा भएको २०औँ मन्त्रीस्तरीय सम्मेलनमा पनि सहभागिता जनाएका थिए। 

सम्मेलनमा उनले जलवायु परिवर्तनका कारण हिमाली पर्यटन गन्तव्यमा बढ्दै गएको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए। भोटेकोशीमा आएको आकस्मिक बाढीले मानवीय क्षतिसँगै पर्यटन पूर्वाधारमा पुर्‍याएको क्षतिको उदाहरण दिँदै उनले पर्यटन क्षेत्रलाई जलवायुजन्य विपद्बाट सुरक्षित बनाउन समुदाय, सरकार र संस्थागत संरचनाबीच सहकार्य आवश्यक रहेको बताए।  

प्रकाशित: २० कार्तिक २०८३ १५:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App