राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले नेपाललाई सहानुभूति नभई जलवायु न्याय आवश्यक रहेको बताएकी छन्।
मलेसियामा आयोजित एसिया-प्रशान्त तथा दक्षिणपूर्वी एसियाका ३० भन्दा बढी देशका सांसदहरूको सम्मेलनमा सहभागी कार्कीले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि नेपालले ठुलो क्षति र पीडा भोगिरहेको विषय उठाएकी हुन्।
उक्त सम्मेलन जनसंख्या र विकास सम्बन्धी एसियाली संसदीय मञ्च (एएफपीपीडी) अन्तर्गत आयोजना गरिएको थियो।
कार्कीले हालैको भोटेकोशी बाढीको भिडियो र तथ्यांक प्रस्तुत गर्दै हिमालय, हिमनदी, वनजंगल र नदी संरक्षणमा नेपालले पुर्याउँदै आएको योगदानबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइन्।
उनले बाढी, पहिरो र अन्य विपदबाट सडक, पुल, घर, विद्यालय र स्वास्थ्य संस्था क्षणभरमै ध्वस्त हुने गरेको उल्लेख गर्दै नेपालजस्ता देशले पटकपटक ऋण लिएर पुनर्निर्माण गर्न नसक्ने बताइन्।
कार्कीले जलवायु न्याय, क्षतिपूर्ति, ‘लस एन्ड ड्यामेज फन्ड’ र जलवायु उत्थानशीलताका विषयलाई प्राथमिकताका साथ उठाउँदै एएफपीपीडी अन्तर्गतका सदस्य देशका सांसदलाई आफ्ना संसदमा जलवायु परिवर्तन र न्यायलाई प्रमुख एजेन्डा बनाउन आह्वान गरिन्।
उक्त सम्मेलन मलेसियामा एएफपीपीडीको नयाँ ग्लोबल सचिवालय उद्घाटनसँगै आयोजना गरिएको थियो। जापानको टोकियोबाट क्वालालम्पुर सारिएको सचिवालयले जनसंख्या, लैंगिक समानता, बाल कल्याण र अन्य क्षेत्रीय विकासका मुद्दामा संसदीय सहकार्य बढाउने लक्ष्य राखेको छ।
प्रकाशित: २० भाद्र २०८३ १०:३६ शनिबार