राजनीति

नेपाल इतिहासकै गम्भीर संकटमा: मोहन विक्रम सिंह

नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले नेपाल अहिले इतिहासकै गम्भीर संकटतर्फ अघि बढिरहेको दाबी गरेका छन्।

राष्ट्रिय जनमोर्चा चितवनले सोमबार नारायणगढमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले जेन–जी आन्दोलनमा गलत प्रवृत्तिका व्यक्ति, प्रतिगमनकारी शक्ति र विदेशी प्रभाव हावी भएकाले देश जोखिमपूर्ण दिशातर्फ गएको बताएका हुन्।

‘नेपालीले राणा शासनको अन्त्य गरे, पञ्चायती शासन परास्त गर्‍यो, ०५९ सालमा राजा ज्ञानेन्द्रको ‘कू’ लाई पनि जनताले हराए,’ सिंहले ऐतिहासिक संघर्षहरू स्मरण गर्दै भने, ‘तर अहिलेको संकट ती सबैभन्दा फरक र गम्भीर छ । किनभने यसमा भारत र अमेरिकी साम्राज्यवादले समेत प्रत्यक्ष घुसपैठ गरेको छ।’

महामन्त्री सिंहले अहिलेको राजनीतिक अवस्था हेर्दा तोकिएको समयमा निर्वाचन हुन कठिन रहेको बताए। उनका अनुसार, ‘कसैले अन्तरिम संविधान बनाएर निर्वाचनमा जाने, कसैले संविधान संशोधन गर्ने, कसैले प्रत्यक्ष कार्यकारी प्रमुखको माग गर्ने, यस्ता विविध मतबीच स्पष्ट दिशा देखिँदैन।’

उनले जेन–जी आन्दोलन नेतृत्वविहीन र अस्पष्ट भएको दाबी गर्दै भने, ‘जेन–जी आन्दोलनमा धेरैजना आफ्ना स्वार्थका लागि घुसेका छन्। आन्दोलनको वास्तविक माग हावामा उडिरहेको छ।’

नेपालमा प्रत्यक्ष कार्यकारी प्रमुख हुने व्यवस्था उपयुक्त नहुने उनको भनाइ छ। ‘अमेरिकामा नै यस्तो प्रणालीले समस्या सिर्जना गरिरहेको छ। नेपालजस्तो समाजमा यो प्रणाली झन् अव्यवहारिक हुन्छ,’ सिंहले टिप्पणी गरे।

सिंहले अमेरिकी प्रभाव र भू–राजनीतिक उद्देश्यबारे पनि टिप्पणी गर्दै भने, ‘अमेरिका नेपाललाई तिब्बतमाथिको प्रभाव विस्तारको आधारभूमि बनाउन खोज्दैछ। एमसिसीमार्फत पनि त्यसैको तयारी भइरहेको छ।’

उनले जेन–जी आन्दोलनमा अमेरिकाबाट प्रशिक्षित समूह, राजावादी र रास्वपा निकट व्यक्तिहरूको पनि संलग्नता रहेको दाबी गरे। ‘सर्वोच्च, सिंहदरबार, संसददेखि देशभर राष्ट्रिय सम्पत्तिमा तोडफोड गर्नेहरू त्यही घुसपैठकै परिणाम हुन्,’ उनले भने।

सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारी निर्णयबारे पनि उनले प्रतिक्रिया दिए। उनका अनुसार, सरकारले कानुन नबनाई ठाडो रूपमा प्रतिबन्ध लगाउँदा आन्दोलनलाई झन् बल मिल्यो। ‘सामाजिक सञ्जालले अराजकता फैलाएको थियो, नियन्त्रण आवश्यक थियो, तर प्रक्रिया गलत भयो,’ सिंहले जोड दिए।

प्रकाशित: २७ आश्विन २०८२ १८:०६ सोमबार