राजनीति

नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच एकता, चुनाव चिह्न पाँचकुने तारा कायम रहने

नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी एकता भएको छ।

दुवै पार्टीले कम्युनिष्ट आन्दोलनको एकीकरण प्रक्रियालाई अघि बढाउँदै पार्टी एकताका लागि १० बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

मंगलबार भएको सहमतिअनुसार एकीकृत पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहनेछ भने चुनाव चिह्न पाँचकुने तारा कायम गरिनेछ।

सहमति पत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाल तथा नेपाल कम्युनिष्ट पार्टीको महासचिव उमा भुजेलले हस्ताक्षर गरेका छन्।

पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने सहमतिमा उल्लेख छ।

त्यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार गर्ने तत्कालीन कार्यनीति तय गरिएको छ।

दुई पार्टीबीचको सहमतिअनुसार आन्दोलन मूलतः शान्तिपूर्ण हुनेछ। आवश्यकता र परिस्थितिअनुसार सडक, संसद् र सरकारलगायतका सबै मोर्चालाई आन्दोलनका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

संगठनात्मक समायोजनका लागि केन्द्रीय समिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय सचिवालय तथा अन्य केन्द्रीय निकायहरूमा आपसी सहमतिका आधारमा जिम्मेवारी बाँडफाँट गरिनेछ। त्यस्तै, सबै तहका पार्टी समिति र जनसंगठनहरूको एकता तथा समायोजन आगामी मंसिर मसान्तभित्र सम्पन्न गर्ने सहमति भएको छ।

पार्टीको एकता राष्ट्रिय महाधिवेशन भने आगामी स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि आयोजना गरिनेछ। सिद्धान्त, विचार र विगतको समीक्षालगायतका विषयमा देखिन सक्ने मतभेदलाई निरन्तर छलफलमार्फत समाधान गर्दै एकता महाधिवेशनबाट अन्तिम निष्कर्षमा पुग्ने सहमति पत्रमा उल्लेख छ।

यस एकतासँगै दुई पार्टीले कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै समाजवादी क्रान्तिको लक्ष्य प्राप्तिका लागि अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: १७ कार्तिक २०८३ १४:३७ मंगलबार