राजनीति

डिजिटल रूपान्तरण लागि नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना र इस्टोनिया गणतन्त्रकी न्याय तथा डिजिटल मामिलामन्त्री लिजा पाकोस्टाबीच डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। 

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को विश्व दूरसञ्चार नीति मञ्च २०२६ मा सहभागी हुने क्रममा कतारको दोहामा भएको भेटवार्तामा दुवै मन्त्रीबीच डिजिटल सार्वजनिक पूर्वाधार, विद्युतीय शासन प्रणाली, डिजिटल रूपान्तरण, साइबर सुरक्षा तथा संस्थागत क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा सहकार्य गर्ने सम्भावनाबारे छलफल भएको हो।

भेटवार्तामा सञ्चारमन्त्री डा तिमिल्सिनाले डिजिटल सुशासनका क्षेत्रमा इस्टोनियाले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै नेपालले त्यसबाट महत्त्वपूर्ण अनुभव र सिकाइ प्राप्त गर्न सक्ने बताए। सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री, प्रभावकारी, पारदर्शी तथा नागरिककेन्द्रित बनाउन इस्टोनियाले विकास गरेको प्रणाली नेपालका लागि उपयोगी हुन सक्ने उनको भनाइ थियो। 

डिजिटल शासन प्रणालीको सफल अभ्यास गर्ने अग्रणी मुलुकमध्ये इस्टोनियाले डिजिटल पहिचान, सुरक्षित तथ्याङ्क आदानप्रदान, विद्युतीय हस्ताक्षर तथा अनलाइन सार्वजनिक सेवा प्रणाली विकास गरेको छ। सरकारी कामकाजलाई कागजरहित बनाउँदै नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने इस्टोनियाको अनुभवबाट नेपालले लाभ लिन सक्ने तिमिल्सिनाले उल्लेख गरे। 

उनले नेपाल र इस्टोनियाबीच डिजिटल सार्वजनिक पूर्वाधार, सरकारी सेवा प्रणालीको अन्तरआबद्धता, डिजिटल पहिचान, साइबर सुरक्षा तथा संस्थागत क्षमता विकासका क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना औँल्याए। 

त्यस्तै, डिजिटल प्रविधिको तीव्र विकाससँगै विश्वमा डिजिटल विभाजनको चुनौती थप जटिल बन्दै गएको विषय पनि उनले उठाए। कृत्रिम बौद्धिकता, उन्नत डिजिटल पूर्वाधार तथा नयाँ प्रविधिको पहुँच र प्रयोग गर्ने क्षमताका आधारमा देशहरूबीच नयाँ प्रकारको डिजिटल असमानता सिर्जना हुन सक्ने उनको भनाइ थियो। 

विकसित मुलुकहरूले डिजिटल प्रविधिमा हासिल गरेको ज्ञान, अनुभव तथा स्रोतबाट विकासोन्मुख र अल्पविकसित मुलुकहरूले पनि लाभ लिन सक्नुपर्नेमा जोड दिँदै उनले इस्टोनियाजस्ता डिजिटल क्षेत्रमा अग्रणी मुलुकहरूले अन्तर्राष्ट्रिय दूरसञ्चार संघमार्फत डिजिटल विभाजन न्यूनीकरण गर्न अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।

सो अवसरमा इस्टोनियाकी मन्त्री पाकोस्टाले नेपालसँग डिजिटल रूपान्तरण तथा विद्युतीय शासनका क्षेत्रमा पारस्परिक सहकार्य र साझेदारी अघि बढाउन प्रतिबद्धता व्यक्त गरिन्। इस्टोनियाले डिजिटल शासन प्रणाली विकासका क्रममा हासिल गरेको अनुभव र ज्ञान नेपालसँग आदानप्रदान गर्न सकिने उल्लेख गर्दै उनले दुवै देशबीच आपसी हितका क्षेत्रमा सहकार्यका पर्याप्त सम्भावना रहेको बताइन्। 

नेपाल र इस्टोनियाबीच डिजिटल रूपान्तरणका क्षेत्रमा सहकार्य विस्तार हुन सके सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धि, सरकारी प्रक्रियामा पारदर्शिता, प्रशासनिक लागत तथा समयको बचत र नागरिकको सेवामा पहुँच विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ। 

त्यसैगरी, ग्रामीण क्षेत्र, दुर्गम समुदाय र प्रविधिमा कम पहुँच भएका नागरिकलाई डिजिटल सेवाको मूलप्रवाहमा समेट्ने नेपालको प्रयासमा इस्टोनियाको अनुभव उपयोगी हुने विश्वास गरिएको छ। 

डिजिटल शासन प्रणालीलाई प्रविधिको प्रयोगमा मात्र सीमित नराखी सुशासन, नागरिकको विश्वास, तथ्याङ्क सुरक्षा तथा समावेशी विकाससँग जोडेर अघि बढाउनुपर्ने विषयमा समेत दुवै देशबीच सहकार्यको सम्भावना रहेको छ।  

भेटवार्ताले नेपाल र इस्टोनियाबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई डिजिटल रूपान्तरण र प्रविधिमा आधारित सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा विस्तार गर्दै द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। 

प्रकाशित: २६ कार्तिक २०८३ १६:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App