राजनीति

भ्रष्टाचारमा डुबेका मन्त्रीलाई तुरुन्त बर्खास्त गर : विवेकशील साझा

विवेकशील साझा पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई तुरुन्त बर्खास्त गर्न माग गरेको छ।

सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। पार्टीले मन्त्रीद्वय गुप्ता र अधिकारी भ्रष्टाचार मुद्दामा संलग्न भएको समाचार र अडियो छताछुल्ल सार्वजनिक भइसक्दा पनि उनीहरू पदमै रहिरहेको प्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टी प्रवक्ता आशुतोष प्रधानका अनुसार भ्रष्टाचार जस्तो जघन्य अपराधमा मुछिएका दुवै मन्त्रीलाई तत्काल बर्खास्त गरी कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग विवेकशील साझा पार्टी जोडदार माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, 'जनताको करवाट श्रृजित राज्य सुविधाको उपयोग गरिरहेका मन्त्रीद्वय गुप्ता र अधिकारीमाथि लागेको सार्वजनिक भ्रष्टाचारको आरोप छताछुल्ल हुँदा पनी उनीहरूलाई बर्खास्त नगर्नुले भष्टाचारको सुई सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि फर्किन सक्ने सम्भावनालाई विवेकशील साझा पार्टीले मिहीन ढंगले अन्वेषण गरिरहेको स्पष्ट पार्दछौँ।'

भ्रष्टाचारको दर्जनौँ प्रकरण र काण्डहरूको न्यायिक निरुपण नभइरहेको अवस्थामा बहालवाला मन्त्रीहरू प्रत्यक्ष संलग्न भएको भ्रष्टाचार काण्डले सुशासनको सवालमा हामी अत्यन्त कमजोर अवस्थामा गुज्रिरहेको ऐना फेरि सार्वजनिक भएको विज्ञप्तिमा उल्लेख छ।

'विवेकशील साझा पार्टी भ्रष्टाचारको यो प्रकरणलाई अत्यन्त गहन अनुसन्धान गर्न र आवश्यक कदम चाल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत विशेष ध्यानाकृष्ट गराउँछ,' विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३० असार २०८२ ०९:३० सोमबार

#Nagariknews #NepaliNews