नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले लोकतन्त्रलाई पुनः लिकमा ल्याउने अवस्था सिर्जना गरेको निष्कर्ष निकालेको छ।
पार्टीले मातहतका कमिटीहरूलाई ‘निर्वाचन विशेष निर्देशन–३’ पठाउँदै विभिन्न आशङ्का, अनिश्चितता र षड्यन्त्रपूर्ण पृष्ठभूमिमा असामान्य परिस्थितिमा सम्पन्न भएको निर्वाचनले लोकतन्त्रलाई ट्र्याकमा ल्याउन सकारात्मक भूमिका खेलेको जनाएको हो।
पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल द्वारा हस्ताक्षरित निर्देशनपत्रमा मतदाताले दिएको अभिमतलाई सम्मान गर्दै पार्टीले संसदमा जिम्मेवार प्रतिपक्षको रचनात्मक भूमिका निर्वाह गर्ने स्पष्ट पारिएको छ।
नेकपाले निर्वाचनमा आफूहरूले अपेक्षा गरेअनुसारको परिणाम आउन नसक्नुका पछाडि विभिन्न कारणहरू रहेको पनि स्वीकार गरेको छ। भर्खरै एकता प्रक्रियाबाट अघि बढेको पार्टीको संगठन समायोजनको काम पूरा नहुँदै निर्वाचनमा होमिनुपरेको अवस्थालाई मुख्य कारण मानिएको छ।
छोटो समयका कारण पार्टीको विचार, नीति, कार्यक्रम तथा नयाँ चुनाव चिह्न जनतामाझ स्थापित गर्न नसकिएको नेतृत्वको बुझाइ छ। साथै भदौ २३ र २४ गतेका घटनापछिको राजनीतिक अन्योल तथा सञ्चारमाध्यममा फैलाइएका भ्रामक र नकारात्मक प्रचारलाई चिर्न पर्याप्त समय नपाउँदा परिस्थिति पार्टीको अनुकूल बन्न नसकेको नेकपाको दाबी छ।
प्रकाशित: २९ फाल्गुन २०८२ १४:४३ शुक्रबार