नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको केन्द्रीय कार्यसंयोजन समितिको बैठक आज (मंगलबार) बस्दै छ।
पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठक आज दिउँसो १ बजे काठमाडौंको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी तथा महाधिवेशन कार्यतालिकालगायत विषयमा छलफल हुने ज्वालाले जानकारी दिए।
त्यसैगरी, भोटेकोशी बाढीपछि सरकारले सञ्चालन गरिरहेको उद्धार, राहत तथा पुनर्स्थापनाका कामको समेत बैठकमा समीक्षा गरिने उनले बताए।
नेकपाले यसअघि सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका प्रभावित भइसकेकाले बैठकले त्यसको पुनरावलोकन गर्न सक्ने ज्वालाले बताए।
नेकपाले राष्ट्रिय महाधिवेशन आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो। त्यसका लागि गत साउन मसान्तसम्म सदस्यता नवीकरण तथा विस्तार अभियान सम्पन्न गर्ने र भदौ १५ गतेभित्र वडा तथा भदौ १६ गतेदेखि भदौ मसान्तसम्म पालिका अधिवेशन गर्ने कार्यतालिका बनाइएको थियो।
तर, भदौ सकिँदासमेत सदस्यता नवीकरण तथा विस्तारको काम पूरा हुन सकेको छैन। पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेभित्र प्रदेश अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ।
सदस्यता नवीकरणदेखि वडा र पालिका अधिवेशनसम्मका काम निर्धारित समयमै सम्पन्न हुन नसकेपछि महाधिवेशनको पूर्वनिर्धारित तालिका प्रभावित भएको हो। यही कारण आज बस्ने बैठकले महाधिवेशनको नयाँ वा संशोधित कार्यतालिका तय गर्न सक्ने पार्टीले जनाएको छ।
प्रकाशित: ६ आश्विन २०८३ ०६:४९ मंगलबार