राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'हाउ डेमोक्रेसी डाइज्' भन्ने किताब पढ्न सुझाएका छन्। मङ्गलबार (आज) बसेको संसद् बैठकलाई सम्बोधन गर्दै खनालले प्रधानमन्त्रीलाई यस्तो सुझाव दिएका हुन्।
'प्रधानमन्त्रीज्यू भन्नुहुन्छ- लोकतन्त्र विरोधी शक्तिहरू संसद् अवरुद्ध गरिरहेका छन्। प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह- हाउ डेमोक्रेसी डाइज् भन्ने किताब पढ्नुस्। आफ्नो सरकारले एक वर्षदेखि गरेका कामहरूसँग मूल्याङ्कन गर्नुहोला। हामी त सुशासन होस्, छानबिन होस्, भ्रष्टाचारी मन्त्रीहरू पदमा बहाल नरहून् भन्ने चाहन्छौँ। तपाईं के चाहनुहुन्छ ?,' खनालले भने।
अगाडि उनले भने, 'हामी दुई महिनादेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीविरुद्ध उच्चस्तरीय स्वतन्त्र छानबिन समिति माग गरेर आन्दोलित भइराख्दा लिचीबारी बेच्ने टेप आयो, पासपोर्टको छपाइमा भागबन्डा भएको खबर बाहिरियो, कुलिङ पिरियडको बदमासीको जिम्मेवारी लिनुपर्छ भन्ने र पनि संसद् मौन छ। र, उल्टै विपक्षीको आवाज निस्तेजको प्रयास भइरहेको छ। केही दिन अगाडि अद्यागमनमा गृहमन्त्रालयका कर्मचारीले अझै घुस लिइरहेको सूचना प्रहरीकहाँ पुग्छ तर, गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर छानबिन अगाडि बढ्दैन। लोकतन्त्र मास्न खोज्नेहरू आफूअनुकूल संविधान, कानून बताउँछन्, न्यायालयको स्वतन्त्रतालाई कुण्ठित पार्छन्, कार्यकारी अधिकारी बलियो बनाउँछन् र मिडियामाथि नियन्त्रण गर्न खोज्छन्।'
रास्वपाले भिजिट भिजा प्रकरणमा उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको माग गर्दै विगत दुई महिनायता संसद् बहिष्कार गर्दै आएको छ। तर, सरकारले गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर उक्त प्रकरणमा छानबिन नगरेको भनाइ खनालको छ।
प्रकाशित: २७ श्रावण २०८२ १४:२० मंगलबार



