नेकपाका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरु एकसाथ संघर्षको तयारीमा जुट्न आह्वान गरेका छन् । शनिबार राजधानीमा भएको कार्यक्रममा पाण्डेले ठुलो बलिदानबाट आएको व्यवस्था र सरकारको गैर कानुनी हर्कत जनताका लागि चुनौती बनेकोसमेत जिकिर गरेका छन् ।
४९औं जुगेडी किसान संघर्ष दिवस तथा ३५ औँ किसान संघर्ष दिवसको अवसरमा नेता पाण्डेले देशको भूराजनीति निकै संकटमा परेको र त्यसको मुख्य कारक वर्तमान सरकार रहेको आरोप लगाए ।
आज सत्तामा अपरिपक्व र जनविरोधी शक्ति पुग्नुमा कम्युनिस्ट पार्टीहरुको अदुरदर्शिता मुख्य कारक रहेको पाण्डेको दाबी छ । ‘तत्कालिन काँग्रेस एमालेले प्रचण्ड सरकारलाई हटाउनु, विगतमा ओलीले हुँदाखाँदाको संसद विघटन र नेकपा विभाजनले आजको दिन देख्नु पर्यो,’ पाण्डेको कथन छ ।
‘हाम्रो विगतको गल्तिले जनविरोधीहरु सरकारमा छन्, उनीहरुविरुद्ध एक भएर संघर्षको गर्नुको विकल्प छैन,’ पाण्डेले भने ।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बलराम बाँस्कोटाले देशको भूराजनीतिक अवस्था निकै चुनौतीपूर्ण रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘समाजवादी चीनलाई घेराउ गर्न साम्राज्यवादी अमेरीकाले नेपाली भूमिको दूरुपयोग गर्न थालेको छ, यस बारे क्रान्तिकारीहरु सजक रहनुपर्छ ।’
प्रकाशित: ६ असार २०८३ १८:०३ शनिबार