राजनीति

नेसनल फोर्स बनेको छ, अब कहीँ केही जल्न पाउँदैन: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अराजकता मच्चाउने र राज्यका निकायमाथि आक्रमण गर्नेहरूलाई निस्तेज पार्न ‘नेसनल भोलेन्टियर फोर्स’ परिचालन गरिने बताएका छन्।

सोमबार झापामा आयोजित ‘नेसनल भोलेन्टियर फोर्स’ कोशी प्रदेशस्तरीय युनिफाइड कमान्ड घोषणा सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले राज्य संयन्त्र कमजोर भएको मौका छोपी हुने अराजक गतिविधि अब सह्य नहुने चेतावनी दिए।

अध्यक्ष ओलीले यो दस्ता चुनाव जित्नका लागि मात्र गठन गरिएको मौसमी संगठन नभएको स्पष्ट पारे।

उनले भने, ‘यो चुनावका लागि गठन गरिएको फोर्स होइन, सधैँका लागि हो। यसले देशमा शान्ति, सुशासन र विकासका लागि लोकतान्त्रिक प्रणालीको रक्षा गर्न अनुशासित ढंगले काम गर्नेछ।’

एमालेले सधैं देश पहिले भन्ने मान्यता राख्ने भन्दै उनले पार्टीका नीति र उद्देश्यलाई साकार पार्न यो फोर्सले भूमिका खेल्ने बताए।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले संसद भवन अगाडि आगो लगाउने, सर्वोच्च अदालत र प्रहरी कार्यालयमाथि जाइलाग्ने तथा प्रहरीको हतियार खोस्ने जस्ता गतिविधि नियन्त्रण गर्न राज्य संयन्त्रलाई फोर्सले सघाउने उनको भनाइ थियो।

‘हामीले देख्यौं, राज्य संयन्त्रमाथि मात्र भर पर्दा अधिकार सुरक्षित हुन नसक्ने रहेछ,’ ओलीले भने, ‘संसद भवन जलाइयो, अदालत र प्रहरी कार्यालयमाथि आक्रमण भयो। प्रहरीलाई कुटपिट गर्ने र हतियार खोस्ने जस्ता आतंककारी अपराधीहरूलाई अब नेसनल भोलेन्टियर फोर्सले नियन्त्रण गर्नेछ। अब नेसनल फोर्स बनेको छ, अब कहीँ केही जल्न पाउँदैन।’

अध्यक्ष ओलीले कोशी प्रदेशलगायत देशभर शान्ति सुव्यवस्था कायम गर्न, प्रहरी र सरकारलाई सहयोग गर्नकै लागि फोर्स निर्माण गरिएको दाबी गरे।

‘राज्य संयन्त्र माथि मात्र लोकतान्त्रिक र देशभक्त शक्तिहरू भर पर्दा जनशक्तिको अभाव महसुस भयो,’ उनले भने, ‘अधिकारका लागि लड्नुपर्ने रहेछ भन्ने बुझेर नै यो फोर्स बनाइएको हो।’

उनले एमालेको यो संगठनले कसैको अधिकार हनन नगर्ने तर अराजकता मच्चाउनेहरूलाई भने नछोड्ने चेतावनी दिए।

प्रकाशित: ११ फाल्गुन २०८२ १५:३३ सोमबार