नेपाली कांग्रेसले गत श्रावण २९ देखि ३१ गतेसम्म सम्पन्न राष्ट्रिय सम्मेलनबाट सुझावसहित पारित प्रतिवेदनहरूलाई अन्तिम रूप दिई सार्वजनिक गरेको छ। सम्मेलनबाट प्राप्त सुझाव, परामर्श तथा छलफलका निष्कर्षहरूलाई समेट्न गठित कार्यदलले प्रतिवेदनलाई अन्तिम रूप दिएपछि आज विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो।
सार्वजनिक प्रतिवेदनमा नेपाली कांग्रेसले आफ्नो स्थापना कालदेखि राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, लोकतन्त्र, सामाजिक न्याय तथा संवैधानिक शासनको स्थापनाका लागि निरन्तर संघर्ष र लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएको उल्लेख गरिएको छ। साथै, लोकतन्त्र, राष्ट्र र पार्टीका आदर्श तथा मूल्यहरूको संरक्षणका लागि योगदान पुर्याउने अग्रज नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति सम्मान व्यक्त गरिएको छ।
प्रतिवेदनमा जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते भएको घटनामा भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ। साथै भदौ २४ गते जेन–जी आन्दोलनको नाममा राज्य संरचना, निजी क्षेत्र तथा निजी सम्पत्तिमाथि भएको तोडफोड, आगजनी तथा राजनीतिक दलका कार्यालयमाथि भएका आक्रमणले लोकतान्त्रिक अभ्यास, संवैधानिक स्थायित्व र नागरिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको निष्कर्ष निकालिएको छ।
प्रतिवेदनमा पार्टीभित्र देखिएको संगठनात्मक विवाद तथा कथित विशेष महाधिवेशनको प्रक्रियाले नेपाली कांग्रेसको आन्तरिक एकता, लोकतान्त्रिक संस्कार र वैधानिकतामा नकारात्मक प्रभाव पारेको उल्लेख गरिएको छ। नियमित महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीमा रहेका तत्कालीन नेतृत्वले समयमै आवश्यक प्रक्रिया पूरा नगर्दा विवाद सिर्जना भएको र त्यसले पार्टीभित्र मत विभाजनलाई गहिरो बनाएको ठहर प्रतिवेदनमा गरिएको छ।
राष्ट्रिय सम्मेलनले जननायक विश्वेश्वरप्रसाद कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई वर्तमान राजनीतिक परिस्थितिमा पनि सान्दर्भिक रहेको उल्लेख गर्दै सबै लोकतन्त्रवादी शक्तिबीच संवाद, सहमति र सहकार्यको आवश्यकता औंल्याएको छ।
प्रतिवेदनमा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषतायुक्त राष्ट्रका रूपमा स्वीकार गर्दै सबै नागरिकको धार्मिक स्वतन्त्रताको संरक्षणमा जोड दिइएको छ। साथै, संविधानलाई बदलिँदो समय, परिस्थिति र जनआकांक्षाअनुसार राष्ट्रिय सहमतिका आधारमा संशोधन तथा परिमार्जन गर्न सकिने धारणा पनि प्रस्तुत गरिएको छ।
पार्टीले सर्वोच्च अदालतमा विचाराधीन आफ्नो वैधानिकतासम्बन्धी मुद्दामा न्यायिक प्रक्रियाप्रति पूर्ण विश्वास व्यक्त गर्दै स्वतन्त्र न्यायपालिका र विधिको शासनप्रति प्रतिबद्धता दोहोर्याएको छ।
आर्थिक तथा सामाजिक रूपान्तरणका विषयमा प्रतिवेदनले प्रजातान्त्रिक समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा पुनः स्थापित गरेको छ। शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, पूर्वाधार विकास तथा आर्थिक पहुँच विस्तारमा राज्यको भूमिका रहने र उत्पादन, लगानी तथा रोजगारी सिर्जनामा निजी क्षेत्रलाई प्रमुख साझेदारका रूपमा प्रवर्द्धन गरिने उल्लेख गरिएको छ।
त्यसैगरी, कृषि, पर्यटन, सूचना प्रविधि, ऊर्जा, हरित तथा डिजिटल अर्थतन्त्रलाई आर्थिक विकासका प्रमुख आधारका रूपमा अघि बढाउने तथा युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने नीति अवलम्बन गरिनुपर्ने प्रतिवेदनमा उल्लेख छ।
राष्ट्रिय सम्मेलनले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई नेपाली कांग्रेसको मूल आदर्शका रूपमा पुनः पुष्टि गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार, सामाजिक न्याय, समानता तथा लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि पार्टी दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रकाशित: ११ भाद्र २०८३ १०:३३ बिहीबार