राजनीति

कांग्रेस इतर समूहको राष्ट्रिय सम्मेलन आज सकिँदै

नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला ‘राष्ट्रिय सम्मेलन’ आज सकिँदै छ।

शुक्रबार भेलाका रूपमा उद्घाटन गरिएको कार्यक्रम शनिबारदेखि सम्मेलनका रूपमा अघि बढाइएको थियो।

सम्मेलनको दोस्रो दिन शनिबार विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथि प्रदेशगत रूपमा छलफल गरिएको छ। बन्दसत्रमा देशभरबाट आएका करिब ३ हजार ५ सय प्रतिनिधि विभिन्न समूहमा विभाजित भएर प्रस्तुत प्रतिवेदनमाथि छलफलमा सहभागी भएका थिए।

सम्मेलनमा नेता डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आर्थिक तथा सामाजिक नीति सम्बन्धी प्रतिवेदन, विमलेन्द्र निधिको राजनीतिक प्रतिवेदन, रमेश लेखक नेतृत्वको कानुन तथा विधान समितिले तयार पारेको विधान संशोधन अवधारणा पत्र, उमाकान्त चौधरीको सांगठनिक प्रतिवेदन तथा नेता एनपी साउदको समसामयिक विषयसम्बन्धी प्रस्तावमाथि छलफल भएको थियो।

छलफलका क्रममा अधिकांश नेताले पार्टीभित्रको एकतामा जोड दिएका थिए। सर्वोच्च अदालतको आदेशअनुसार पार्टीको आगामी बाटो तय गर्नुपर्नेमा उनीहरूको जोड छ। सम्मेलनले १५औँ महाधिवेशनलाई १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आयोजना गर्ने विषयलाई प्राथमिकतामा राखेको छ।

यसअघि, तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूले नचाहँदा–नचाहँदै पार्टीको विशेष महाधिवेशन गरिएको बताउँदै अदालतमा मुद्दा विचाराधीन रहेकाले यस विषयमा धेरै नबोल्ने धारणा राखेका थिए।

सम्मेलनको अन्तिम दिन आज पूर्वउपसभापति निधिको राजनीतिक प्रतिवेदन र नेता एनपी साउदको समसामयिक राजनीतिक प्रतिवेदन, प्रकाशशरण महतको आर्थिक दृष्टिकोण, उमाकान्त चौधरीको सांगठनिक प्रस्ताव र रमेश लेखकको विधान संशोधनसम्बन्धी प्रस्तावमा समूहगत छलफल बाँकी भएका सक्ने र समूहका तर्फबाट सुझाव पेस हुनेछ।

सुझाव आएपछि सम्मेलनको घोषणापत्र सार्वजनिक हुनेछ र सम्मेलन समापन हुनेछ।

प्रकाशित: ३१ श्रावण २०८३ ०९:०९ आइतबार