राजनीति

राष्ट्रियसभा बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने

आज राष्ट्रिय सभाको बैठक बस्दै छ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा आज दिउँसो १ः१५ बजे बैठक बस्ने छ।

आजको बैठकमा अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने तय भएको छ भने विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्था समितिको प्रतिवेदन पेस गर्ने छन्।

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्षा टेबुल गर्ने छन् भने संस्कृति पर्यटन तथा उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१ लाइ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

साथै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

प्रकाशित: १३ भाद्र २०८२ ०७:५४ शुक्रबार