राजनीति

राष्ट्रिय सभाको बैठक बुधबारसम्मका लागि स्थगित

प्रतिपक्षी दलहरुको अवरोधका कारण राष्ट्रिय सभाको मंगलबारको बैठक पनि प्रभावित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतीय भूमि मिचेको भन्ने अभिव्यक्तिमा माफी माग्नु पर्ने माग गर्दै प्रतिपक्षी दलहरुले मंगलबारको बैठकमा पनि अवरुद्ध गरेका हुन्। 

बैठकको सुरुमै उठेर अवरोध गरेपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बोल्न समय दिएका थिए। आफ्नो धारणा राख्दै प्रतिपक्षी दलका सदस्यहरुले प्रधानमन्त्री शाहको अभिव्यक्तिले मुलुकको सार्वभौमसत्तामा गम्भीर आँच पुगेको बताउँदै सदनमा आएर माफी माग्नु पर्ने माग गरे। नेपालले भारतीय भूमि मिचेको हो भन्ने तथ्य भए सदनमा प्रस्तुत गर्न माग गरेका हुन्। 

साथै राष्ट्रिय सभा सदस्यहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध कुटनीति गर्ने गरी विकासको मोडललाई मात्र प्राथमिकतामा राखेर भारतीय सञ्चार माध्यममा लेख प्रकाशन गरेको भन्दै आपत्ति जनाएका थिए।  

उनीहरुले आफ्नो विरोध जारी राखेपछि अध्यक्ष दाहालले बैठक बुधबारसम्मका लागि स्थगित गरे।    

प्रकाशित: १९ जेष्ठ २०८३ १४:१५ मंगलबार