कर्णाली प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि गठबन्धन गरेका नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार ललितजंग शाही विजयी भएभने महिलातर्फ नेकपा एमालेकी उम्मेदवार मिनासिंह रखाल विजयी भइन्।
कर्णाली प्रदेशमा ४० जना प्रदेशसभा सांसद र ७९ स्थानीय तहमा १८० प्रमुख तथा उप्रमुख छन्। अन्यतर्फ विजयी कांग्रेस कर्णाली प्रदेशका सभापतिसमेत रहेका शाहीले प्रदेशसभातर्फ कसेका ३९ मत मध्ये २६ मत प्राप्त गरे। उनलाई नेपाली कांग्रेसका १५, नेकपा एमालेका १० र प्रगतिशिल लोकतान्त्रिक पार्टीका एक सांसदले मतदान गरे। उनले १३ सय ६८ मतभार प्राप्त गरे।
यस्तै उनका निकतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार बुद्धिप्रसाद शर्माले १३ मत प्राप्त गरे। उनको ६८९ मतभार प्राप्त गरे। प्रदेश सभाका ४० सांसद मध्ये राप्रपाका सांसद सन्तोषी शाहीले मतदानस्थलमा उपस्थित भएर पनि मतदान गरिनन्। उनले पार्टीको नीति अनुसार मतदान नगरेको जानकारी दिइन्।
कांग्रेसबाट विजयी शाहीले स्थानीय तहका प्रमुख÷उपप्रमुखबाट खसेको १५२ मत मध्ये एक सय मत प्राप्त गरे। स्थानीय तहबाट प्राप्त मतको एक हजार ९०० मतभार उनले प्राप्त गरे। यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शर्माले ५० मत प्राप्त गरे। यसको कुल मतभार ९५० हो। खसेका मत मध्ये दुई मत बदर भएको थियो।
महिलातर्फ रखालले प्रदेशसभामा खसेको ३९ मत मध्ये २६ मत प्राप्त गरिन्। प्रदेश सांसदको कुल मतभार १३ सय ६८ प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी अन्जु महताराले १३ मत प्राप्त गरिन्। यसको कुल मतभार ६८९ हो।
यस्तै स्थानीय तहतर्फ खसेको १५२ मत मध्ये रखालले ९३ मत प्राप्त गरिन्। स्थानीय तहतर्फ उनको कुल मतभार १३ सय ७८ हो। यस्तै महताराले स्थानीय तहतर्फ ५५ मत प्राप्त गरिन्। यसको मतभार एक हजार ४५ हो। महिलातर्फ एक मत खाली थियो भने तीन मत बदर भएका थिए।
जसले भोट दिएनन्
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार भएको मतदानमा कर्णाली प्रदेशसभाका एक सदस्यसहित सात जनाले मतदान गरेनन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार ४० सदस्यीय प्रदेशसभा सदस्य मध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सन्तोषी शाहीले मतदान गरिनन्। पार्टी केन्द्रको निर्देशन अनुसार आफू मतदानस्थलमा भएपनि मतदान नगरेको उनले बताइन्।
यस्तै डोल्पोबुद्व गाउँपालिका अध्यक्ष कार्मा छोइवेल गुरूङ, उपाध्यक्ष पेम्मा धोर्चे गुरूङ र काइके गाउँपालिका उपाध्यक्ष निमा बुढाले मतदान गरेनन्। डोल्पोबुद्व गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष पूर्व नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए भने काइके गाउँपालिकाकी उपाध्यक्ष बुढा नेपाली काँग्रेसबाट निर्वाचित हुन्।
पूर्व नेकपा माओवादी केन्द्रबाट निर्वाचित जाजरकोटको नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावत र शिवालय गाउँपालिका उपाध्यक्ष गीता शाही पनि मतदानमा अनुपस्थित रहे। यस्तै दैलेखको गुराँस गाउँपालिकाकी उपाध्यक्ष शिवाकुमारी खड्का पनि मतदानमा उपस्थित भइनन्। नेकपा एमालेबाट निर्वाचित उनी स्वास्थ्य समस्याका कारण प्रदेश अस्पताल कालागाउँ उपचाररत छिन्।
माओवादीसँग मिल्दा हारे, एमालेसँग मिल्दा जिते
नेपाली कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाही २०७९ सालमा भएको प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रसँगको गठबन्धन गरेर साझा उम्मेदवार थिए। उनलाई बागी उम्मेदवारी दिएका देवेन्द्रबहादुर शाहीले पराजित गरे। संविधानसभा सदस्यसमेत रहेका शाहीले माओवादीसँगको गठबन्धन गरेर पनि प्रदेशसभा सदस्य नजितेका उनले राष्ट्रियसभा सदस्यमा भने एमालेसँगको गठबन्धनमा सहजै जित निकाल्न सफल भए।
यस्तै महिलातर्फ विजयी एमालेकी रखाल केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला इन्चार्ज हुन्। उनले पहिलो प्रदेशसभा निर्वाचनमा समानुपातितर्फ कर्णाली प्रदेशसभा सदस्य थिइन्।
प्रकाशित: ११ माघ २०८२ १८:१२ आइतबार