राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टीभित्र आफूले उठाएको सुधारको एजेन्डा कुनै व्यक्तिविरुद्ध नभई समग्र पार्टीलाई सुदृढ बनाउनका लागि भएको स्पष्ट पारेकी छन्।
शनिबार सामाजिक सञ्जालमा एक भिडियो राख्दै उनले आफ्नो अभियानलाई पार्टी सभापति रवि लामिछानेको विकल्प खोज्ने प्रयासका रूपमा गलत व्याख्या गरिएको भन्दै आपत्ति जनाइन्।
‘विगत केही दिनदेखि मैले उठाएको रिफर्मेसनको एजेन्डालाई अतिरञ्जित गरेर, यो मुद्दालाई कमजोर बनाउनका लागि रवि लामिछानेको विकल्प खोजेको हो कि भन्ने किसिमका आरोपहरू निरन्तर ममाथि आइरहेको छ,’ भिडियोमा उनले भनेकी छन्, ‘यो भुसको आगो जस्तो सल्केर यसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै कमजोर बनाउन सक्छ।’
डा. कार्कीले जेन-जी क्रान्तिले उठाएको भ्रष्टाचारविरुद्ध र सुशासनको मुद्दालाई स्थापित गर्न रास्वपा यथास्थितिवादमा रहन नहुनेमा जोड दिइन्।
उनले पार्टीलाई थप सबल, लोकतान्त्रिक र समयसापेक्ष बनाउन वैचारिक तथा सांगठनिक सुधारको आवश्यकता औंल्याइन्। ‘मैले उठाएको रिफर्मेसनको एजेन्डा व्यक्ति विरुद्धको होइन, समग्र राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुदृढ, सबल र समयसापेक्षिक हिसाबले सक्रिय बनाउनका लागि हो,’ उनले प्रस्ट पारिन्।
आफ्नो सुधार प्रस्तावबारे थप प्रस्ट्याउँदै उनले पार्टीको आगामी विस्तारित बैठकमा प्रस्तुत हुने राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि सहभागीले राय मात्र राख्ने नभई त्यसलाई स्वीकार, अस्वीकार वा संशोधन सहित पारित गर्ने अधिकारका लागि मतदानको व्यवस्था हुनुपर्ने माग गरिन्।
उनले पार्टीको केन्द्रीय सचिवालय, पदाधिकारी र समितिको संरचनामा समेत पुनरावलोकन र पुनर्गठन गरी यसलाई वैकल्पिक शक्ति, नागरिक समाज र ‘जेनजी’ पुस्ता सबैको साझा प्लेटफर्म बनाउनुपर्ने धारणा राखिन्।
यथास्थितिमा रहेर पार्टीले बहुमत हासिल गर्न नसक्ने बताउँदै उनले भनिन्, ‘यदि हामी यथास्थितिमै चलिरहने हो भने हामीले चाहेर पनि बहुमतको पार्टी बन्न सक्दैनौँ।’
आफूले पेशा र भविष्य छोडेर पार्टी निर्माणमा लागेको स्मरण गर्दै उनले मिथ्या आरोप लगाएर आफ्नो धैर्यको परीक्षा नलिन आग्रह गरिन्। उनले व्यक्तिगत आरोप-प्रत्यारोपभन्दा माथि उठेर सुधारका मोडालिटीमा बहस गर्न सबैलाई आह्वान गरिन्।
प्रकाशित: ८ कार्तिक २०८२ २१:४९ शनिबार