नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलका क्रममा आफू प्रधानमन्त्री भएकै कारण अपराधी करार गर्न खोजिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।
बुधबार सार्वजनिक भएको जेन-जी आन्दोलनको छानबिन आयोगको प्रतिवेदनले आफूलाई कारबाही सिफारिस गरेपछि ओलीले त्यसलाई भद्दा नाटक भएको बताएका हुन्।
बिहीबार नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले आफ्ना विरोधीहरूले अत्यन्त स्तरहीन क्रियाकलाप गरिरहेको आरोपसमेत लगाए।
‘हाम्रा विरुद्ध प्रधानमन्त्री भएबापत अपराधी हुनुपर्ने ?’ ओलीले भने, ‘कस्तो अत्यन्त स्तरहीन खालको क्रियाकलाप भइराखेको छ। यो एउटा कलाविहीन र भद्दा नाटक हो।’
उनले यस्ता स्तरहीन आरोप र अप्ठ्याराहरूसँग जुध्दै आफ्नो पार्टी निरन्तर अगाडि बढ्ने दाबीसमेत गरे। सत्यको बाटोमा हिँड्दा आउने जस्तोसुकै घेराबन्दी तोड्न आफूहरू तयार रहेको उनको भनाइ थियो।
बुधबार सार्वजनिक भएको जनेजी आन्दोलनको छानबिन गर्न बनेको आयोगको प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री ओलीलाई कारबाहीको सिफारिस गरेको थियो।
प्रकाशित: १२ चैत्र २०८२ १६:४० बिहीबार



