राजनीति

भोटेकोशी बाढीलाई ‘राष्ट्रिय विपद्’ घोषणा गर्न सांसदहरूको माग

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै सांसदहरूले यसलाई राष्ट्रिय विपद् घोषणा गर्न सरकारसँग माग गरेका छन्।

विपद्को यस घडीमा तत्काल राज्य संयन्त्र परिचालन गरी उद्धार र राहतमा जुट्न उनीहरूले आग्रह गरेका हुन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मोहन आचार्यले बाढीका कारण मानव बस्ती, पक्की पुल र जलविद्युत् आयोजनालगायतका संरचना ध्वस्त भएको बताए।

ठूलो संख्यामा मानवीय क्षति भएको उल्लेख गर्दै उनले उद्धार तथा राहत कार्यलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताए।

सांसद आचार्यले प्रभावित क्षेत्रमा तत्काल राज्यका सबै संयन्त्र परिचालन गरी बेपत्ताको खोजी, उद्धार, घाइतेको उपचार तथा राहत व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए।

बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी र अर्का सांसद् बसुमाया तामाङले पनि भोटेकोशी बाढी प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतका लागि सरकार गम्भीरतापूर्वक अघि बढ्नुपर्ने माग गरे।

प्रकाशित: १० भाद्र २०८३ १४:३२ बुधबार