राजनीति

सुकुम्बासीको उचित व्यवस्था गर्न सांसदहरूको माग

प्रतिनिधि सभाको बुधबारको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत सीमाका सम्बन्धका प्रधानमन्त्रीले सदनमा दिएका अभिव्यक्तिका बारेमा प्रष्ट पार्न आग्रह गरेका छन्।

बैठकको सुरुमा सभामुखसँग समय लिएर सांसद राईले काठमाडौंका विभिन्न ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको उचित बन्दोबस्ती गर्न माग गरे।

नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले नेपालको संविधानले सरकारलाई संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गरेको जानकारी गराउँदै प्रधानमन्त्रीले सीमाका सम्बन्धमा दिएका धारणाका सम्बन्धमा ‘रुलिङ’ गर्न र संसद्मा नै आएर आफ्नो धारणा सच्याउन आग्रह गरे।

उनले सरकारका मन्त्रीहरूले नै विभिन्न स्थानमा गैरजिम्मेवार अभिव्यक्ति दिएको घटना सार्वजनिक भएको उल्लेख गर्दै गलत अभिव्यक्ति दिने मन्त्रीलाई जिम्मेवार बनाउनुपर्ने धारणा राखे।

नेकपा (एमाले)का सांसद कृपाराम रानाले लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्तालगायतका स्थानमा नेपालको सीमा अतिक्रमण भएको उल्लेख गर्दै देशभन्दा माथि कोही पनि नरहेको धारणा राखे। उनले सुकुम्बासीलाई राखिएको ‘होल्डिङ सेन्टर’मा मानवोचित व्यवहार नभएको भनी सरकारको ध्यानाकर्षण गराए।

त्यसैगरी, नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीले सदनमार्फत नेपाल र भारतको सीमाका सम्बन्धमा दिएका अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई सच्याउनुपर्ने तर्क गरे।

उनले कुनै पनि पार्टीको सदस्य नरहने स्वतन्त्र भूमिकामा रहनुपर्ने सभामुखबाट सोहीअनुसार कामकाज हुने विश्वास व्यक्त गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग रहेको सम्बन्धको ‘नाभी काट्न’ सक्नुभएको छैन कि क्या हो ? भनी  प्रश्न गरे।

सांसद यादवको उक्त धारणाप्रति सत्तारुढ दल रास्वपाका सांसद गणेश कार्कीले नियमापत्ति गरे। लगत्तै सभामुख डोलप्रसाद अर्यालले सांसद यादवको अभिव्यक्तिका सम्बन्धमा ध्यानाकषर्ण भएको बताए। 

प्रकाशित: ३ असार २०८३ १२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App