राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले दशैँ-तिहारअघि सडक सञ्चालनयोग्य बनाई नागरिकको सुरक्षित आवतजावत सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
सोमबार संसदमा बोल्दै उनले पछिल्लो तीन-चार दिनदेखि भइरहेको अविरल वर्षाका कारण धादिङ क्षेत्र नम्बर १ अन्तर्गत पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरो जाने र सडक भासिने क्रम जारी रहेकाले यातायात सञ्चालनमा अवरोध पुगेको बताइन्।
‘नेपालीहरूको महान् चाड दशैँ-तिहार नजिकिँदै गर्दा सर्वप्रथम सडक नै सञ्चालनयोग्य बनाई नागरिकको सुरक्षित आवतजावत सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,’ उनले भनिन्।
सांसद तामाङले पृथ्वी राजमार्गको नदी किनारमा बसोवास गर्ने नागरिकका घर, जग्गा र निजी सम्पत्तिमा भएको क्षतिको तत्काल मूल्यांकन गरी वास्तविक पीडितलाई राहत, पुनर्स्थापना र आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गरिन्।
बाढी र पहिरोबाट सडक, पुल, खानेपानी तथा अन्य भौतिक संरचनामा भएको क्षतिको तत्काल लेखाजोखा र प्राविधिक मूल्यांकन गर्न पनि उनले सरकारसँग माग गरेकी छन्।
प्रकाशित: १२ आश्विन २०८३ १२:३२ सोमबार