राजनीति

सांसद स्वारको प्रश्न : भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिमा प्रधानमन्त्रीले कहिले माफि माग्ने?

प्रतिनिधिसभाको आजको बैठकमा सांसद भरतबहादुर स्वारले प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिमा आपत्ति जनाएका छन्। उनले उक्त अभिव्यक्तिका लागि प्रधानमन्त्रीले संसद्समक्ष माफी माग्नुपर्ने माग गर्दै आपत्ति जनाएका हुन्। 

बैठकमा बोल्दै सांसद स्वारले राष्ट्रका प्रमुख व्यक्तिबाट नेपालले पनि भारतको जग्गा मिचेको भन्ने अभिव्यक्ति आउनु दुःखद र लज्जास्पद भएको बताए। 

उनले भने, ‘सम्मानित सदनमा नेपालले पनि भारतको जग्गा मिचेको छ भन्दा उहाँलाई लाज लाग्न सकेन। सदनसमक्ष माफी माग्नु त कता हो कता, अहिले आएर म चारैतिरबाट नाकाबन्दीमा परेको छु भन्न थाल्नुभयो।’ 

स्वारले लिम्पियाधुरा, कालापानी र सुस्तालगायत नेपालको भूभागमा भारतले अतिक्रमण गरेको विषय स्पष्ट रहेको दाबी गर्दै सरकार यस विषयमा मौन बस्न नहुने बताए। उनले प्रधानमन्त्री बालेन्द्र शाहले विगतमा काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा अखण्ड नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेको स्मरण गर्दै अहिले भने नेपालको नक्सासम्बन्धी विषयमा फरक व्यवहार देखिएको आरोप लगाए। 

सांसद स्वारले प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा उपस्थित गराउन सत्तापक्षका सांसदहरूलाई समेत आग्रह गरे। सभामुखले पटक–पटक संसद्मा उपस्थित हुन आग्रह गर्दासमेत प्रधानमन्त्रीले चासो नदिएको उनको भनाइ थियो। 

उनले भने, ‘तपाईंहरूले दिएको मतले उहाँ प्रधानमन्त्री हुनुभएको हो कि उहाँ आफ्नै मतले प्रधानमन्त्री हुनुभएको हो? यो कुराको हेक्का सम्माननीय प्रधानमन्त्रीज्यूलाई हुनुपर्छ।’ 

स्वारले आफूहरूमाथि ‘३५ वर्षसम्म के गर्नुभयो ?’ भन्ने प्रश्न उठाउने गरिएको भन्दै विगतमा भएका विकास निर्माणका कामको विस्तृत विवरण दिन आफू तयार भएको बताए। 

प्रकाशित: २६ श्रावण २०८३ १३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App