राजनीति

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति हटाउन सांसद संग्रौलाको माग

प्रतिनिधिसभा सदस्य अम्बिका देवी संग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको’ भन्ने  अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरेकी छन्। 

बुधबार प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि बोल्दै सांसद संग्रौलाले प्रधानमन्त्री शाहले जेठ १७ गते दिएको उक्त अभिव्यक्ति सच्याउन वा संसद्को रेकर्डबाट हटाउन आफूहरूले लामो समयदेखि माग गर्दै आएको बताइन्। 

उनले प्रधानमन्त्रीको उक्त भनाइलाई ‘राष्ट्रघाती अभिव्यक्ति’ भन्दै त्यसलाई सच्याउने वा अभिलेखबाट हटाउने विषयमा हालसम्म माग सम्बोधन नभएको बताइन्। 

‘जेठ १७ गते सम्माननीय प्रधानमन्त्रीज्यूले हाम्रो देशले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको छ भन्ने जुन राष्ट्रघाती अभिव्यक्ति दिनुभएको थियो, त्यो अभिव्यक्ति सच्याइयोस् वा यसै सम्मानित सदनको रेकर्डबाट हटाइयोस् भनेर हामीले लामो समयदेखि माग गर्दै आएका थियौँ,’ उनले भनिन्। 

सांसद संग्रौलाले आफ्नो माग कहिलेसम्म सम्बोधन हुन्छ भन्ने विषयमा सरकारसँग जवाफ माग गरिन्।  

‘हाम्रो यो माग आजसम्म पनि सम्बोधन नभएको हुनाले यो मागको सम्बोधन कहिलेसम्म हुन्छ, हामीले जवाफ मागेका छौँ,’ उनले भनिन्। 

प्रकाशित: १४ आश्विन २०८३ १४:०८ बुधबार