प्रतिनिधिसभा सदस्य रन्जु न्यौपानेले बालबालिका तथा महिलामाथि हुने यौन हिंसा न्यूनीकरण गर्न कक्षा १ देखि १२ सम्म व्यापक यौन शिक्षा अनिवार्य गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधिसभामा बोल्दै सांसद न्यौपानेले यौन शिक्षालाई लिएर समाजमा रहेको संकोच हटाउनुपर्ने बताइन्। विद्यालयका पाठ्यपुस्तकमा नै उमेरअनुकूल र वैज्ञानिक यौन शिक्षा समावेश गरी कक्षा १ देखि १२ सम्म अनिवार्य रूपमा पढाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।
‘हामी सधैँ यौन शिक्षा भन्नेबित्तिकै मुख फर्काउँछौँ, त्यो हटाउनुपर्छ,’ उनले भनिन्।
न्यौपानेले यौनजन्य अपराधको अनुसन्धानलाई प्रभावकारी बनाउन नेपालको फरेन्सिक क्षमतासमेत वृद्धि गर्नुपर्ने र घटनास्थलमा पुग्ने प्रहरीको अनुसन्धान क्षमता अभिवृद्धि गर्न सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको माग छ।
‘हाम्रो फरेन्सिक क्षमता कति छ, त्यसलाई वृद्धि गरियोस्। घटनास्थलमा पुग्ने प्रहरीहरूको क्षमता विकासमा नेपाल सरकारले काम गरोस्,’ उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्।
उनले सञ्चारमाध्यम, विज्ञापन, कथा तथा चलचित्रमा महिलालाई यौन वस्तुका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिमाथि पनि सरकार गम्भीर हुनुपर्ने बताइन्। महिलालाई निरन्तर यौन वस्तुका रूपमा प्रस्तुत गरिरहने हो भने महिला र छोरीहरू सुरक्षित हुन नसक्ने उनको भनाइ थियो।
महिला र बालिकालाई सम्मान गर्ने संस्कारलाई समाजमा अझ बलियो बनाउनुपर्नेमा जोड दिँदै उनले नेपाली समाजले छोरीलाई देवीका रूपमा सम्मान गर्ने परम्परालाई व्यवहारमै कायम राख्नुपर्ने बताइन्।
न्यौपानेले पछिल्ला वर्षहरूमा बलात्कारजस्ता जघन्य अपराध बढ्दै गएको भन्दै सरकारलाई अपराध नियन्त्रणका लागि दीर्घकालीन र प्रभावकारी कदम चाल्न आग्रह गरिन्। बलात्कारका घटनामा कानुन कडा बनाउनुपर्ने आवाज लामो समयदेखि उठ्दै आएको उल्लेख गर्दै उनले कानुन कस्तो र कसरी बनाउने भन्ने विषयमा गम्भीर छलफल आवश्यक रहेको बताइन्।
प्रकाशित: ८ भाद्र २०८३ १४:०१ सोमबार