प्रतिनिधिसभा सदस्य ऐनबहादुर महराले दक्षिण भारतमा रहेका लाखौँ नेपालीको सुरक्षा र सेवा सुनिश्चित गर्न बेङ्गलुरुमा नेपाल सरकारको आधिकारिक कूटनीतिक नियोग स्थापना गर्न माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दक्षिण भारतका विभिन्न राज्यमा २० लाखभन्दा बढी नेपाली श्रमिक, विद्यार्थी, व्यवसायी तथा पेशाकर्मी रहेको भन्दै उनीहरूप्रति नेपाल सरकार गम्भीर र जिम्मेवार हुनुपर्ने बताए।
उनले बजाङका विजयराज भट्टको भारतको बेङ्गलुरुस्थित चन्दापुर अपार्टमेन्टमा काम गर्ने क्रममा मालिकको कुटपिटबाट मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता घटनामा राज्यको प्रभावकारी उपस्थिति आवश्यक रहेको बताए।
महराले विदेशमा रहेका नेपालीले नागरिकता, राहदानी, श्रमसम्बन्धी समस्या, कानुनी सहायता, उद्धार, मृत्यु तथा दुर्घटना व्यवस्थापन, लगानी प्रवर्द्धन र सरकारी सेवा–सुविधामा पहुँचका विषयमा अझै पनि ठूलो कठिनाइ भोगिरहेको बताए।
उनले दक्षिण भारतको प्रमुख आर्थिक तथा प्रवासी केन्द्र बेङ्गलुरुमा नेपाल सरकारको आधिकारिक महावाणिज्य दूतावास वा कूटनीतिक नियोग तत्काल स्थापना गर्नुपर्ने माग गर्दै यो केवल कूटनीतिक सम्बन्ध विस्तारको विषय नभई नेपाली नागरिकको संरक्षण र संवैधानिक अधिकारसँग जोडिएको विषय भएको बताए।
महराले विदेशमा रहेका नेपालीलाई केवल रेमिट्यान्स पठाउने माध्यमका रूपमा नभई राष्ट्र निर्माणका साझेदार नागरिकका रूपमा सम्मान गर्नुपर्ने भन्दै बेङ्गलुरुमा नेपाली नियोग स्थापना गर्न नेपाल सरकारले तत्काल कूटनीतिक, प्रशासनिक र नीतिगत पहल गर्नुपर्ने बताए।
प्रकाशित: १८ असार २०८३ १४:२८ बिहीबार