राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको दयनीय अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले २०२८ सालदेखि नै उक्त राजमार्ग स्तरोन्नतिको पर्खाइमा रहेको उल्लेख गरे। स्याङ्जा क्षेत्रबाट प्रतिनिधित्व गर्ने उनले स्थानीय पुस्ताको योगदान स्मरण गर्दै सडकको वर्तमान अवस्था प्रति चिन्ता व्यक्त गरे।
‘मेरो हजुरबुवाको पुस्ताले आफ्नै श्रम र सामान्य औजार प्रयोग गरेर निर्माणमा योगदान दिएको सिद्धार्थ राजमार्ग अझैसम्म स्तरोन्नतिको पर्खाइमै छ,’ उनले भने।
लुम्बिनी र पोखरालाई जोड्ने तथा पर्यटन र आर्थिक विकासको महत्वपूर्ण आधार मानिएको यो राजमार्ग अहिले अत्यन्तै जीर्ण बनेको उनले बताए। ठाउँ–ठाउँमा खाल्डाखुल्डी, जोखिमपूर्ण मोड र अव्यवस्थित संरचनाका कारण सर्वसाधारणको दैनिकी तथा आर्थिक गतिविधि प्रभावित भइरहेको उनको भनाइ थियो।
सांसद डुम्रेले बजेट भाषणमा मात्रै सीमित नराखी सिद्धार्थ राजमार्गको स्तरोन्नति कार्य तत्काल सुरु गर्न सरकारसँग आग्रह गरे।
प्रकाशित: २५ चैत्र २०८२ १४:३८ बुधबार