राजनीति

संसदीय सुनुवाइ संयुक्त समितिको सदस्यमा सांसद डा. शाक्य मनोनीत

राष्ट्रिय सभाका सांसद डा. अञ्जान शाक्य संसदीय सुनुवाइ संयुक्त समितिको सदस्यमा मनोनीत भएकी छन्।

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको समेत सदस्य रहेकी शाक्यलाई राष्ट्रिय सभाको बैठकले सदस्य मनोनयनका लागि सहमति जनाएपछि उक्त समितिको सदस्य बनेकी हुन्। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २५ को उपनियम २ बमोजिम उनलाई संसदीय सुनुवाइ संयुक्त समितिमा मनोनयनको प्रस्ताव पेस गरेका थिए। राष्ट्रपति मनोनीत सांसद हुन्।

राष्ट्रिय सभाबाट उक्त समितिमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगाना र नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्मा थिए। शाक्यसँगै अब संसदीय सुनुवाइ संयुक्त समितिमा राष्ट्रिय सभामा तीन जनाको प्रतिनिधित्व भएको छ।  

उक्त समितिमा प्रतिनिधि सभातर्फबाट माओवादीका जनार्दन शर्मा, कांग्रेसका जीवन परियार, रास्वपाका डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपति शमशेर ज.ब.रा., नेकपा (एमाले)का महेश बर्तौलालगायत सांसद छन्।  

नेपालको संविधानको धारा २९२ को उपधारा (१) मा संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनु अघि संघीय कानुन बमोजिम संसदीय सुनुवाइ हुने छ भन्‍ने व्यवस्था गरिएको छ। उक्त समितिलाई संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्तिका लागि सुनुवाइको क्षेत्राधिकार दिइएको छ।

त्यस कारण पनि उक्त समितिलाई महत्वपूर्ण समितिका रूपमा हेरिन्छ। उक्त समितिमा १५ सदस्य रहने प्रावधान छ।

प्रकाशित: १७ भाद्र २०८२ ०९:१५ मंगलबार