राजनीति

विपद् व्यवस्थापनमा गम्भीर बन्न सांसद अर्यालको ध्यानाकर्षण

नेकपा एमालेकी सांसद पद्मा अर्यालले पछिल्लो समय देशका विभिन्न ठाउँमा देखिएको बाढी, पहिरो र डुबानको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएकी छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको जिल्लागत यथार्थ विवरण तत्काल सार्वजनिक गर्न माग गरिन्। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै खाद्यान्न, आवास, खानेपानी, स्वास्थ्य सेवा र आवश्यक मानवीय सहयोगको व्यवस्था गर्न पनि उनले आग्रह गरिन्।

अर्यालले क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा सञ्चार संरचनाको पुनर्निर्माण अघि बढाउन र जोखिमयुक्त बस्तीका लागि दीर्घकालीन सुरक्षित पुनर्स्थापना तथा बस्ती व्यवस्थापनको राष्ट्रिय गुरुयोजना बनाउन सरकारको ध्यानाकर्षण गराइन्।

उनले विपद्सँग जोडिएका समस्या समाधान गर्न आवश्यक कानुन शीघ्र निर्माण गर्नुपर्नेमा जोड दिइन्। विपद्को पूर्वअनुमानसँग जोडिएका कानुनी अड्चन हटाउन पनि उनले सरकारलाई आग्रह गरिन्।

गण्डकी प्रदेशका ११ जिल्लामा बाढी, पहिरो, हिमपहिरो र डुबानका कारण ठुलो क्षति भएको प्रारम्भिक विवरण आएको उनले बताइन्। उनका अनुसार विभिन्न क्षेत्रमा घर तथा पूर्वाधारमा क्षति पुगेको छ भने कतिपय नागरिक विस्थापित भएका छन्।

स्याङ्जाको सेतीवेणी क्षेत्रमा पनि कालीगण्डकीको बाढीले ठुलो क्षति पुर्‍याएको बताउँदै अर्यालले स्याङ्जा र गुल्मीबिच यातायात सहज बनाउन तत्काल कालीगण्डकी जलविद्युत् आयोजनाको बाँध हुँदै हर्मीचौरतर्फको सुरुङमार्ग प्रयोगको व्यवस्था गर्न माग गरिन्।

प्रकाशित: १२ आश्विन २०८३ ११:५५ सोमबार