राजनीति

दुर्गा प्रसाई भन्छन् विदेशी आडमा बनेको नेतृत्व र दलले देश बनाउन सक्दैनन्

मेडिकल व्यवसायी दुर्गा प्रसाईले देशको स्वाधीनता, आत्मनिर्भरता र राष्ट्रिय एकताका लागि नेपाली माटोमा नेपालीबाटै नयाँ राष्ट्रवादी शक्ति निर्माण गर्नुपर्ने बताएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत प्रसाईले युवाको तीव्र पलायन, आर्थिक पछौटेपन र स्वाधीनताको सङ्कट अन्त्य गर्न जरैदेखि नयाँ, सक्षम र आत्मनिर्भर देशभक्त नेतृत्व निर्माणको विकल्प नरहेको बताएका हुन्। उनले युवालाई विदेशी दूतावासका कार्यक्रम तथा बाह्य प्रभावमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन्। 

उनले आम समाज र नयाँ पुस्तामा छाएको निराशा अन्त्य गर्दै नयाँ आशा जगाउने अभियानमा आफूहरू जुट्ने निर्णयमा पुगेको बताएका छन्। ‘गरीब होइन, गरिबीको अन्त्य’ नै समाधान भएको बताउँदै नेपालको इतिहास, सभ्यता र पुनःएकीकरणको जगलाई आत्मसात् गर्ने प्रविधिमैत्री विज्ञ युवालाई संगठित गरी नयाँ नेतृत्व निर्माण गर्ने दाबी गरेका छन्। 

प्रसाईले नेपालको आफ्नै स्रोत, साधन र पुँजीको सही परिचालन गर्दै आगामी १५ वर्षभित्र दिगो विकास हासिल गर्ने ठोस खाका र कार्यक्रमसहित जनतामाझ जाने बताएका छन्। रोजगारी र अवसर सिर्जना गरी विदेशिएका नेपालीलाई १० वर्षभित्र स्वदेश फर्काउने तथा आगामी पुस्ताले रोजगारीका लागि विदेशिनु नपर्ने वातावरण निर्माण गर्ने आफ्नो मुख्य सङ्कल्प रहेको उनको भनाइ छ। 

देश विखण्डनबाट जोगाउँदै स्वाधीनता र आत्मनिर्भरताका लागि नेपाली माटोमा नेपालीद्वारा स्थापित हुने पहिलो वास्तविक राष्ट्रवादी शक्ति निर्माण गर्ने दाबी गर्दै उनले देश बनाउने हुटहुटी भएका युवा, विज्ञ, राष्ट्रिय पुँजीपति, बौद्धिक वर्ग तथा आम नेपालीको साथ, सुझाव र सहयोगको अपेक्षा गरेका छन्। 

विभिन्न सरकारसँग कागजी सहमति भए पनि समस्या समाधान गर्ने सामर्थ्य र दृष्टिकोण विद्यमान नेतृत्व तथा राजनीतिक दलमा नदेखिएको प्रसाईले बताएका छन्। विदेशीको तालिम वा नियोगको आडमा बनेका नेतृत्व र दलले देश बनाउन नसक्ने निष्कर्षमा आफूहरू पुगेको उनको भनाइ छ। 

२०७९ साल फागुन १ गतेदेखि ‘राष्ट्र, राष्ट्रियता, धर्म तथा नागरिक बचाउ अभियान’ मार्फत देशको स्वाधीनता, सीमित व्यापारी तथा बिचौलियाको हातमा पुगेको अर्थतन्त्र, कृत्रिम ब्याज वृद्धि, बैंक तथा लघुवित्तपीडित र आम नागरिकका समस्याका विषय निरन्तर सरकारसमक्ष उठाउँदै संघर्ष गर्दै आएको बताएका छन्। 

प्रकाशित: ७ भाद्र २०८३ ११:३५ आइतबार