राजनीति

कांग्रेस महाधिवेशनमा ७ हजार बढी प्रतिनिधि सहभागी हुने

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा सात हजार ५०० भन्दा बढी प्रतिनिधि सहभागी हुने बताएका छन्। यो कांग्रेसको इतिहासमै सबैभन्दा ठूलो प्रतिनिधि सहभागिता भएको उनको दाबी छ। 

महाधिवेशनबारे सञ्चारकर्मीसँग क्ुरा गर्दै उनले विदेशबाट आउने प्रतिनिधिहरूको संख्या अझै यकिन नभइसकेको बताए। निर्वाचन आयोगको सूचनाअनुसार अधिकांश क्षेत्रमा अधिवेशनका काम सम्पन्न भइसकेको र केही सीमित क्षेत्रमा मात्र प्रक्रिया बाँकी रहेको उनले जानकारी दिए। 

उनका अनुसार मतदान भएका क्षेत्रमा आज रातिसम्म मतगणना सम्पन्न गर्ने तयारी छ। बाँकी रहेका केही स्थानमा पनि मतगणना भइरहेको छ। 

महाधिवेशनको मतदान तीन स्थानबाट हुने उनले बताए। उद्घाटन कार्यक्रम हुने हल, राष्ट्रिय सभा गृह र प्रज्ञा भवनमा भूगोलका आधारमा मतदान केन्द्र निर्धारण गरिएको छ। मतदान मतपत्रबाटै हुने र मतगणना सम्भवतः पार्टी कार्यालयमा गरिने उनले जानकारी दिए। 

महाधिवेशन उद्घाटनका विषयमा बोल्दै चालिसेले पार्टीको परम्पराअनुसार यसअघि सभापतिले नै उद्घाटन गर्ने चलन रहेको बताए। यसपटक पनि पार्टी सभापतिले सार्वजनिक समारोहबाट उद्घाटनका लागि अनुरोध गरेको समाचार सार्वजनिक भइसकेको उनले उल्लेख गरे। 

प्रधानमन्त्रीलाई उद्घाटन समारोहमा निमन्त्रणा नदिएको भन्ने विषयमा उनले पार्टीको महाधिवेशनमा सम्बन्धित दललाई निमन्त्रणा दिने परम्परा रहेको स्पष्ट पारे। प्रधानमन्त्री आबद्ध दलका अध्यक्षलाई निमन्त्रणा पत्र पठाइसकेको बताउँदै उनले कार्यक्रममा कसले प्रतिनिधित्व गर्ने भन्ने निर्णय सम्बन्धित दलकै विषय भएको बताए। 

‘पार्टीको महाधिवेशनमा पार्टीलाई निमन्त्रणा दिने हो। प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने कि पार्टी सभापतिले गर्ने भन्ने उहाँहरूकै पार्टीको कुरा हो,’ उनले भने। 

महाधिवेशनको मिति यसअघि असोज १६ गतेका लागि तय भए पनि पछि असोज १८ गते सारिएको चालिसेले बताए। मिति परिवर्तन हुँदा छिमेकी मुलुकबाट आएका केही पाहुना फर्किसकेको र अन्य पाहुनालाई पनि असहज भएको उनले जानकारी दिए। 

प्रकाशित: १७ आश्विन २०८३ १६:२७ शनिबार