खानेपानीमन्त्री प्रदीप यादव उपत्यकावासीका लागि बहुप्रतिक्षित मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गतका कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आइतबार राति अनुगमनमा निस्किएका छन्।
आइतबार मन्त्री यादवले प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुंडालदेवी, विशालनगर, वंशीधर मार्ग र सुवर्णशमशेर सडकसम्मका क्षेत्रमा मेलम्ची खानेपानीको पाइपलाइन बिछ्याइएको स्थलहरूमा छड्के अनुगमन गरेका छन्।
अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री यादवले पाइपलाइन बिछ्याइएको क्षेत्रमा तत्काल पाइप परीक्षण सम्पन्न गरी मेलम्चीको पानी वितरण गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिए।
बालुवाटारस्थित प्रधानमन्त्री निवास तथा आसपासका क्षेत्रहरूमा मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गत बिछ्याइएको प्राइमरी पाइपलाइन (३१५ मिमि/२८० मिमि (एचडिईपी) को निर्माण कार्य तेर्सो दिशात्मक ड्रिलिंग (एचडिडी) प्रविधिबाट सफलतापूर्वक सम्पन्न गरिएको र चाँडै मेलम्चीको खानेपानी वितरण गरिने तयारी रहेको अनुगमनमा आफूले जानकारी पाएको मन्त्री यादवले बताए।
उनले भने, ‘मेलम्ची खानेपानी आपूर्ति प्रणालीअन्तर्गत बालुवाटारलगायत क्षेत्रमा पाइपलाइन बिछ्याउने काम सफल भएको पाइयो। ती क्षेत्रमा अब चाँडै मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएको छु।’
पाइपलाइनको दबाब परीक्षण (प्रेसर टेस्ट) को तयारी तथा सम्पन्न गर्ने चरणमा रहेको र प्रेसर टेस्ट सफलतापूर्वक सम्पन्न भएपछि ‘डिएमए एच–२’, ‘आई–३’, ‘आई–४’ र ‘आई–५’ अन्तर्गतका क्षेत्रहरू बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुंडालदेवी, विशालनगर, वंशीधर मार्ग पश्चिम तथा सुवर्णशमशेर सडकमा मेलम्चीको पानी आपूर्ति सुरु गरिने आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिए।
उनका अनुसार पानी वितरण पश्चात् उक्त क्षेत्रका करिब तीन हजार पाँच सय घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। काठमाडौं उपत्यकाका बासिन्दालाई शुद्ध, स्वच्छ तथा नियमित खानेपानी आपूर्ति गर्ने दीर्घकालीन लक्ष्य अनुरूप उक्त पाइपलाइन बिछ्याउने कार्य गरिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का आयोजना प्रबन्धक अमित रञ्जितले जानकारी दिए। रासस
प्रकाशित: ५ श्रावण २०८२ ०६:२७ सोमबार