राजनीति

‘निगरानी कांग्रेसलाई होइन, प्रधानमन्त्रीका सल्लाहकारलाई गर’

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले राज्य संयन्त्रले निगरानी कांग्रेस नेतृत्वलाई नभई प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनलाई गर्नुपर्ने बताएका छन्।

बिहीबार पार्टीको केन्द्रीय पदाधिकारी बैठकमा सहभागी हुन पुगेका शिवाकोटीले पार्टी सभापतिलाई निगरानीमा राखिएको चर्चाबारे टिप्पणी गर्दै यस्तो बताएका हुन्।

देशमा कानुनी शासन बाँकी भए कांग्रेस नेतृत्वविरुद्ध षड्यन्त्र रच्नेहरूमाथि छानबिन हुनुपर्ने उनको भनाइ थियो। बाहिर ‘प्लट’ तयार पारेर अडियो संवाद रेकर्ड गराउने र कांग्रेसविरुद्ध प्रोपोगान्डा मच्चाउने गिरोहलाई कारबाहीको दायरामा ल्याउन उनले माग गरे।

‘वास्तवमै कानुनले काम गरिरहेको भए यतिखेर निगरानी प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई गर्नुपर्थ्यो,’ शिवाकोटीले भने, ‘बाहिर षड्यन्त्रपूर्वक प्लट तयार पारेर अडियो संवाद रेकर्ड गराउने र कांग्रेस नेतृत्वविरुद्ध प्रोपोगान्डा फैलाउनेहरूलाई पो कानुनी दायरामा ल्याउनुपर्छ।’

उनले सूचना चुहाएको आरोपमा सुरक्षा निकायका नेतृत्व आईजीपीसम्म फेरिने अवस्था आउनु तर मुख्य योजनाकारहरू सत्ताको आडमा जोगिनु विडम्बना भएको बताए।

कांग्रेसको १५औं महाधिवेशनपछि जनमत पार्टीको पक्षमा बन्दै गएको देखेपछि आत्तिएर सरकारले नेतृत्वमाथि भद्दा आक्रमण थालेको शिवाकोटीको दाबी छ।

सरकारले शान्त तलाउमा ढुङ्गा हानेर परिस्थितिलाई उत्तेजित बनाएको भन्दै उनले देशभरका कांग्रेस कार्यकर्ताले यसको राजनीतिक प्रतिवाद गर्ने चेतावनी दिए।

यसैबीच, सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर नेपाल प्रहरीको साइबर ब्युरोले आफ्नो खोजी गरेपछि आफू विदेश भ्रमण छोट्याएर काठमाडौं आइपुगेको जानकारी पनि उनले दिए।

आफूविरुद्ध उजुरी गराएर राज्य संयन्त्रको दुरुपयोग गरिएको भन्दै उनले कांग्रेस यस्ता हर्कतबाट नडराउने र कानुनी तथा राजनीतिक लडाइँ लड्ने बताए।

प्रकाशित: १९ कार्तिक २०८३ २०:५१ बिहीबार