राजनीति

जेन-जीका आन्दोलन र उपलब्धि आफ्नो बनाउन सामाजिक सञ्जालमा बुस्ट गर्दै राजावादी

जेनजीले गरेको आन्दोलनपछि उत्पन्न परिस्थिति र  नेतृत्वको उचित विकल्प नुहँदा आफ्ना मुद्दा स्थापित गर्न समस्या भएको छ ।  

जेनजीले आन्दोलन गरेपछि विकसित घटनाक्रमको जस लिन राजावादी समूह उत्तिकै सक्रिय भएर लागेको छ ।  

राजावादीले जेनजीसँगको वार्तालाई प्रभावित बनाउन खोजेका मात्र छैनन् । यो उपलब्धी नै आफ्नो हो भन्दै पैसा तिरेरै प्रचारमा जुटेका छन् ।  

बुधबार दुर्गा प्रसाईंले दिनभर प्रधानसेनापतिसँग गरेको छलफलका बारेमा व्याख्या गरेका थिए भने यसपछि पनि राजावादी समूहले सामाजिक सञ्जालमा पैसा तिरेर (बुस्ट गरेर) नै प्रचार गरिरहेका छन् ।  

ह्वाट्स एप, डिस्कोर्ड जस्ता च्याट प्लेटफर्महरूमा युवाहरूले आन्दोलनका कार्यक्रम र विचार आदानप्रदान गर्ने क्रममा राजतन्त्र पक्षधरहरूले आफ्नो एजेन्डा राख्न थालेका छन्।    

जेनजी पुस्ताले स्वतन्त्रता, समानता र उत्तरदायी शासनलाई आफ्नो प्रमुख एजेन्डा बनाएको भए पनि कतिपय राजाबादी समूहहरूले यो अवसरलाई राजसंस्थाको पुनस्र्थापना र राजाबादी एजेन्डा अघि बढाउन प्रयोग गर्न थालेका छन्। राजाबादी पक्षधर ठानिएका संस्थाका प्रतिनिधि समेत यस्तो वार्तालापमा देखिन थालेका छन्।

उनीहरूले युवाको असन्तुष्टिलाई आफ्नो पक्षमा मोड्ने रणनीति अपनाइरहेका छन् भन्ने आशङ्का जेनजीको छ ।

यही आशंकाले पनि जेनजीले साथीहरूलाई सामाजिक सञ्जालको च्याट समूहबाटै सचेत गराइरहेका छन्। उनीहरूले समूहमा लेखेका छन्, ‘राजावादीहरू हाबी हुन खोजिरहेका छन्, तर हामीले सचेत रहनुपर्छ।’

प्रकाशित: २६ भाद्र २०८२ १३:०२ बिहीबार