श्रम संस्कृति पार्टीले उपाध्यक्ष मित्र परियारलाई पदबाट निलम्बन गरेको छ।
पार्टीको आचारसंहिता विपरीत गतिविधि गरेको र अभद्र व्यवहार देखाएको भन्दै पार्टी अध्यक्ष हर्कराज राईले उनलाई कारबाही गरेका हुन्।
अध्यक्ष राईका अनुसार परियारलाई निलम्बन गर्नुका दुई मुख्य कारणहरू रहेका छन्।
पहिलो गत पुस ५ गते बुटवलमा आयोजित पार्टीको आमसभामा परियारले आयोजक टोलीमाथि अभद्र शैलीमा सार्वजनिक अभिव्यक्ति दिएका थिए।
दोस्रो, सोही क्रममा उनले पार्टीका जिल्ला सह-संयोजक केशव न्यौपानेलाई आपत्तिजनक र अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेको आरोप छ।
पार्टीको अनुशासन र आचारसंहिताको बर्खिलाप भएको ठहर गर्दै अध्यक्ष राईले परियारलाई पदमुक्त गरेका हुन्।
कारबाहीको जानकारी गराउँदै अध्यक्ष राईले पार्टीभित्रको पदिय अहङ्कार स्वीकार्य नहुने चेतावनी दिए।
उनले श्रम संस्कृति पार्टीमा कोही पनि नेता वा कार्यकर्ता नरहने र सबै जना श्रमदाताको हैसियतमा रहने स्पष्ट पारेका छन्।
हर्कले भनेका छन्- ‘कोही कसैले केन्द्रीय समितिको हुँ भन्दै आबद्ध सदस्यहरूलाई अपमान गर्ने किसिमको अभिव्यक्ति र व्यवहार गरेमा यस्तै प्रकारको कारबाही गरिनेछ।’
यसअघि, गत पुस २ गते अध्यक्ष साम्पाङले पार्टीका अर्का उपाध्यक्ष राजकुमार तामाङलाई पनि निलम्बन गरेका थिए।
विस्फोटक पदार्थ सम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तामाङलाई काठमाडौंको कपनबाट पक्राउ गरेपछि पार्टीले उनलाई कारबाही गरेको हो।
सरकारी अनुसन्धानमा प्रभाव नपरोस् भन्दै मुद्दाको अन्तिम टुङ्गो नलागेसम्मका लागि उनलाई निलम्बन गरिएको पार्टीले जनाएको छ।
प्रकाशित: ७ पुस २०८२ १८:३० सोमबार