नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सिध्याउने सामर्थ्य प्रधानमन्त्री बालेन्द्र शाहसँग नरहेको दाबी गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको तुलनामा प्रधानमन्त्री शाहको स्तर निकै कमजोर रहेको जिकिर गरेका हुन्।
आफूलाई कमजोर पार्न ओलीले सम्पूर्ण तागत प्रयोग गरेको स्मरण गर्दै उनले प्रधानमन्त्री शाहबाट त्यस्तो जोखिम नरहेको बताए। ‘ओलीले हामीहरूलाई कमजोर पार्न सबै सामर्थ्य लगाएका थिए,’ उनले भने।
आफूहरूबाट कुनै गल्ती भएको भए ओलीले पहिल्यै जेलमा हाल्नेसम्मको षड्यन्त्र बुनेको आरोपसमेत उनले लगाए। यसैगरी, संयोजक दाहालले आफू र आफ्नो पार्टीमाथि नियोजित रूपमा प्रहार भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।
अघिल्लो सरकारले पार्टीका सहसंयोजकलाई झूटा मुद्दा लगाएर फसाएको उनको भनाइ छ।
साथै, आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले दुबईमा १४० अर्ब रुपैयाँ लुकाएको भनेर निरन्तर भ्रम फैलाइएको भन्दै उनले त्यस्ता अफवाहको खण्डन गरेका छन्।
प्रकाशित: २१ असार २०८३ १८:१२ आइतबार