राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय संकटमा सम्बोधन गर्ने नैतिक साहस नभएको भन्दै प्रश्न गरेका छन्।
सामाजिक सञ्जाल एक्समा लेखिएको एक पोस्टमार्फत उनले देशको आन्तरिक र भूराजनीतिक परिस्थितिमा भविष्यमा ठूलो संकट आउन सक्ने चेतावनी दिँदै सबै दललाई 'नवीन समझदारी'को बाटो अपनाउन आह्वान गरेका छन्।
मिश्रले लेखेका छन्, 'मेरो दृष्टि दोष हो कि देशलाई दशा लागेको हो, मैले छुट्याउन सकेको छैन!' उनले भदौ २३ र २४ गतेको संकटलाई स्मरण गर्दै राष्ट्रपतिलाई सेनाले लुकाउनुपर्ने अवस्था देशका लागि लज्जास्पद भएको बताएका छन्।
'राष्ट्रिय संकट आइपर्दा राष्ट्रपतिलाई राष्ट्रिय टेलिभिजनमा आएर सम्बोधन गर्ने नैतिक साहस भएन। उनलाई सेनाले लुकाउनु पर्यो,' उनले लेखेका छन्।
मिश्रले भविष्यमा संकट पर्दा फेरि यस्तै अवस्था नदोहोर्याउन 'नवीन समझदारी' आवश्यक रहेकोमा जोड दिए। 'नेपालको आन्तरिक परिवेश र भूराजनीतिक कारणले भदौ २३ र २४ गतेको भन्दा पनि ठूलो संकट भविष्यमा फेरि आउँदैन भनेर सोच्नु चरम अपरिपक्वता हुनेछ,' उनले थपेका छन्।
उनले सबै शक्तिले मिलेर देशको हितलाई केन्द्रमा राख्न आह्वान गर्दै भने, 'देशको हितलाई केन्द्रमा राखी सबैले सबैलाई क्षमा गर्दै सबै शक्ति मिलेर जाँदा कसको के बिग्रिन्छ? के देशलाई अझै ठूलो संकटमा लगेर परीक्षण गर्ने अनि संकटका लागि फेरि एकले अर्कोलाई दोष दिने रहर छ?'
पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रपतिको पौडेलको तस्बिर राख्दै मिश्रले लेखेका छन्:
मेरो दृष्टि दोषी हो कि
देशलाई दशा लागेको हो
मैले छुट्याउन सकेको छैन!
राष्ट्रिय संकट आइपर्दा राष्ट्रपतिलाई राष्ट्रिय टेलिभिजनमा आएर सम्बोधन गर्ने नैतिक साहस भएन। उनलाई सेनाले लुकाउनु पर्यो।
नेपालको आन्तरिक परिवेश र भूराजनीतिक कारणले भदौ २३ र २४ गतेको भन्दा पनि ठूलो संकट भविष्यमा फेरि आउँदैन भनेर सोच्नु चरम अपरिपक्वता हुनेछ।
भविष्यमा संकट पर्दा के फेरि हामीले टेलिभिजनबाट राष्ट्रलाई सम्बोधन पनि गर्न नसक्ने, सेनाले लुकाइदिनु पर्ने "अभिभावक" खोजेको हो?
होइन भने, अझै पनि हामी #नवीन समझदारी को बाटोमा किन जान सक्दैनौँ। यति बिघ्न अहम् र वैचारिक दासता पनि नहोस्, जसले देशलाई नै भड्खालोतिर धकेलोस्।
देशको हितलाई केन्द्रमा राखी सबैले सबैलाई क्षमा गर्दै सबै शक्ति मिलेर जाँदा कसको के बिग्रिन्छ? के देशलाई अझै ठूलो संकटमा लगेर परीक्षण गर्ने अनि संकटका लागि फेरि एकले अर्कोलाई दोष दिने रहर छ?
प्रकाशित: २६ आश्विन २०८२ १२:२६ आइतबार