जेनजी अभियन्ता मिराज ढुंगानाको नेतृत्वमा आज नयाँ पार्टी घोषणा हुँदैछ। उनले एक भिडियो जारी गरेर पार्टी खोल्ने जानकारी दिएका थिए।
नयाँ बानेश्वरस्थित एभरेस्ट इन्टरनेसनल होटलमा विशेष पत्रकार सम्मेलनमार्फत दिउँसो १ बजे उनले यसबारे थप जानकारी गराउने तयारी गरेका छन्। उनले देशको अग्रगामी निकास र भाद्र २३/२४ को विद्रोहमा ७६ जनाको बलिदानले प्राप्त उपलब्धिको रक्षाका लागि नयाँ राजनीतिक पहलको घोषणा अनिवार्य भएको तर्क गरेका छन्।
देश विषम परिस्थितिमा भएको ठहर गर्दै उनले अग्रगामी निकासका लागि नयाँ दृष्टिकोण ल्याउने दाबी गरेका छन्। प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र विदेशमा भएका नेपालीलाई पनि मताधिकार दिनुपर्ने एजेन्डासहित उनले दल घोषणा गर्न लागेका हुन्।
ढुंगाना तत्कालीन केपी शर्मा ओली सरकार पतन गरेर सुशीला कार्की नेतृत्वमा सरकार गठन गर्न सफल दुई दिने जेनजी आन्दोलनको चर्चित अनुहारमध्ये एक हुन्। कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गतेभित्र निर्वाचन गराउन तयारी थालेसँगै नयाँ दल खुल्ने क्रम चलिरहेको छ।
प्रकाशित: १ कार्तिक २०८२ ०९:४५ शनिबार